काठमाडौं,
ज्येष्ठ १७ ।
असार ८ गते देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक गरिएको छ । विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।
चलचित्रको ट्रेलरमा पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी र नायक मनिष सुन्दर श्रेष्ठका बीचको प्रेम र विछोडको कथा देखाइएको छ ।
पूर्ण रुपमा लभस्टोरी कथामा निर्मित बताइएको यस चलचित्रका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सहनिर्मात्रीमा छिन् ।
विकाश बस्यालको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई मदन दवाडी, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
बी. एण्ड बी. फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा माधव घिमिरेको पटकथा तथा संवाद र रोशन श्रेष्ठको द्वन्द छ । चलचित्रमा मलिना र मनिषका साथमा स्वरूप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी, गोपाल ढकाल (छन्दे)लगायतका कलाकारहरुको अभिनय छ ।
माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठले द्वन्द्व, कविराज गहतराज कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।






