काठमाडौं ।
आइतबारदेखि संघीय संसदको दोस्रो अधिवेशन सुरु भएको छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश भएका छन् ।
दोस्रो अधिवेशनको पहिलो बैठकमा गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पेश गरेका हुन्।
त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, र कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५, र संघिय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश गरेका हुन् ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि पेश गरिएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले समितिको प्रतिवेदन पेश गरेका हुन् ।
चैत २२ गते प्रतिनिधिसभा कार्य सञ्चालनका लागि प्रतिनिधिसभा नियमवाली मस्यौदा समिति गठन गरेको थियो। समितिलाई कार्य प्रारम्भ भएको मितिले एक महिनाको समयवाधि दिइएको थियो । समितिले टुंगो लगाएको मस्यौदा प्रतिवेदनमा फरक मत पनि समावेश गरिएको छ ।
संशोधन प्रस्ताव दर्ताका लागि बैशाख २५ गते अपरान्ह २ बजे सम्मको समय दिइएको छ । बैठकको सुरुमा नै सभामुख कृष्णबहादुर महराले अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।






