म गीत लेख्दिनँ, गीतले मलाई लेखाउँछ

वि.सं. २०१० पुस २१ गते सिन्धुलीको हतपतेमा डा. कृष्णहरि बरालको जन्म भएको हो । नेपाली गीत र गजल लेखनमा छुट्टै पहिचान बनाउन सफल वरिष्ठ साहित्यकार बरालका एक फूलः अनेक पत्र (२०५१), भाषा विज्ञान र नेपाली भाषा (२०५२), उपन्यासको विश्लेषण (२०५५), संदृष्टि (२०५५), उपन्यास सिद्धान्त र नेपाली उपन्यास (२०५६), कवि भूपि ः विश्लेषण र मूल्याङ्कन (२०५७), गीतकार कृष्णहरि बराल ः सिर्जना र समालोचना (सम्पा. नेत्र एटम, २०५८), गीत ः सिद्धान्त र इतिहास (२०६०), वस्तुपरक समालोचना (२०६१), मनोविश्लेषण र साहित्य (२०६८) आदि कृति प्रकाशित छन् । उहाँका एक दर्जन गीतिएल्बम प्रकाशित छन् । उहाँले नेपाली साहित्यमा पु¥याएको योगदानस्वरुप सर्वश्रेष्ठ गीतकार (२०६१), नइ–कलानिधि सङ्गीत सम्मान (२०५५), छिन्नलता पुरस्कार (२०५६), दोभान प्रतिभा सम्मान (२०५७), सिन्धुलीय श्रेष्ठ समाज सम्मान (२०५७), भूपालमानसिंह युवा साहित्य पुरस्कार (२०५९), गजलश्री सम्मान (२०६०), बहादुरसिंह बराल स्मृति पुरस्कार (२०६२) आदि पुरस्कार एवम् सम्मानबाट सम्मानित हुनुभएको छ । विगत चार दशकदेखि निरन्तर गीतगजलको फाँटमा कलम चलाई विशिष्ट पहिचान बनाउन सफल बराल सिद्धहस्त समालोचक र एकजना कुशल प्राध्यापक पनि हुनुहुन्छ । गजल विधामा विद्यावारिधि गर्नुभएका डा. कृष्णहरि बरालसित ‘मिलाप’ पत्रिकाका लागि साहित्यकार श्रीराम राईले गर्नुभएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छः–

तपाईंको बाल्यकालको एउटा सम्झनालायक क्षण ?
म छ वर्षको हुँदा बच्चा जन्मिन नसकेर आमालाई सञ्चो भएन । हतपते डाँडामा अस्पतालहरु थिएनन् । उहाँलाई औषधि गर्न लाने भए । शनिबारको दिन थियो । म एक कक्षामा पढ्थँे । म बाहिर आँटीमा बसेर ‘बस साइँली घरैमा तिमी’ यस्तै गीतहरु गाउँदै थिएँ । उहाँले भित्र बोलाएर ‘ल है बाबु धेरै पढ्नू है’ भन्नुभयो । मैले ‘के धेरै पढ्नु । तपाईं शनिबारको दिन पनि पढपढ भन्नुहुन्छ । आ, आज त पढ्दिनँ म’ भनेर बाहिर निस्केर हिडें । उहाँलाई औषधि गर्न जनकपुर लगियो  । तर, त्यहाँ नभएपछि जयनगरतिर लाँदै गर्दा बाटामै खस्नुभयो । अहिले म सम्झिन्छु त्यो ‘धेरै पढ्नू’ । कति पढियो कति, के–के गरियो आफ्नो ठाउँमा छ । पीएचडी गरियो । विश्वविद्यालयमा प्राध्यापकसम्म भइयो । त्यही पनि मैले उहाँले भने जति पढ्न सकेजस्तो लागेको छैन । धेरै पढ्नु पनि पर्छ जस्तो लाग्छ ।

तपाईं साहित्यमा कसरी लाग्नुभयो ? विशेष कुन–कुन विधामा कलम चलाउने गर्नुहुन्छ ?
घरमा महाभारत, रामायण, श्रीमद्भागवत, महाकवि लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौड्यालका किताबहरु पनि थिए । बुबा सिलोक भन्नुहुन्थ्यो । गाउँमा लोकगीत र भजनहरु गाइन्थे । मेरा काका गीत खुब गाउनुहुन्थ्यो । त्यसैले सानैदेखि म गीत–कवितातिर तानिएँ । गीतबाटै पाँच कक्षामा कापी पुरस्कार पाएको थिएँ । स्कुलमा कार्यक्रमहरु भइरहन्थे । त्यहाँ कविताहरु लेख्ने, पढ्ने, गीतजस्तो बनाउने अनि पढ्ने गरिन्थ्यो । आई.ए. पढ्दा ‘कर्मयुग’ भन्ने पत्रिकामा ‘विपरीत व्यथाहरु’ भन्ने एउटा गद्य कविता छापियो ।
म जनकपुरमा पढ्दा धेरै हास्यव्यङ्ग्य लेख्थें । म तेत्तीस सालमा काठमाडौँ आएँ । त्यसको एक महिनाभित्रै रेडियो नेपालमा पाण्डव सुनुवार र सुरेश श्रेष्ठको आवाजमा ‘म भक्त हुँ यो देशको’ रेकर्ड भयो । गोरखापत्रमा दुर्गानाथ शर्माले मेरो गीत छापिदिनुभयो । अनि म गीतमा लागेँ । हास्यव्यङ्ग्यमा भने भैरव अर्यालको ठाउँमा कहिल्यै पुग्दिनँ भन्ने लागेपछि मैले छोडिदिएँ ।
क्याम्पस पढाउन थालेपछि भने समालोचना लेख्न थालेँ । छयालीस सालमा मेरो समालोचना ‘रुपमती उपन्यास आधुनिकताको प्रश्न’ भन्ने छापियो । त्यसपछि धैरै समालोचनाहरु लेखेँ । मैले गीत सिद्धान्त, गजल सिद्धान्त, मनोविश्लेषण सिद्धान्तलगायत विविध विषयमा समालोचना लेखेको छु । त्यस्तै, नेत्र एटमसित मिलेर उपन्यास सिद्धान्त, कथा सिद्धान्तका साथै विद्यालयका किताबहरु लेखेँ । मोहनराज शर्मासित भाषाविज्ञानको किताब लेखेँ । गीत, गजल र चलचित्रका गीतहरु गरेर मेरा पाँच सय जति रेकर्ड भएका छन् ।

एउटा राम्रो गीतमा के–के हुनुपर्छ भन्ने लाग्छ ?
गीतमा पहिले त विषयवस्तु हुनुप¥यो । अनि लय हुन्छ, भाषा हुन्छ । गीत एकचोटी सुन्दै छ्याङ्ग बुझिने भाषाको हुनुपर्छ । विम्ब प्रतीक पनि कवितामा जस्तो जटिल नभएर छ्याङ्ग बुझिने हुनुपर्छ । सङ्गीतकारले धुन हालिदिएपछि त्यसको एरेन्ज, बाजाहरुको मिलावट, रेकर्डिङ, भिजुयल यी सबै पूरा भएपछि एउटा राम्रो गीत निर्माण हुन्छ । स्थायीमा एउटा कुरा ढ्याक्क राखिसकेपछि त्यसैलाई पूर्ण गर्ने कामचाहिँ अन्तराले गर्नुपर्छ ।

गीतको सिर्जना परिवेश कस्तो हुन्छ ? तपाईं स्वतः लेख्नुहुन्छ कि जबर्जस्ती ?
सबै थोक हुन्छ । अहिले त गीत लेखन व्यावसायिक पनि भयो । सामान्यतया गीत–कविताहरु फुरेर लेख्ने भन्ने चलन छ । मैले एउटा गीतमा पनि लेखेको छु–
गीतजस्तो माया पनि आफैँ फुर्नुपर्छ
जुराएर हुन्न यो त आफै जुर्नुपर्छ ।
माया करले हुँदैन, माया डरले हुँदैन
आफैं हुन्छ यो रहरले हुँदैन ।
मैले के भन्ने गरेको छु भने म गीत लेख्दिनँ, गीतले मलाई लेखाउँछ । भित्र आउँछ, भित्र नै बन्छ एउटा आकार । अनि त्यसपछि टिप्ने हो मोबाइलमा, टिप्ने हो कागजमा । अर्को चाहिँ फर्माइस हुन्छ । कोही चाहिँ मलाई यस्तो घटना घट्यो, यस्तो गीत लेखिदिनुहोस् भन्न आउनुहुन्छ । त्यसलाई म एउटा कच्चा पदार्थका रुपमा लिन्छु र त्यसलाई मनमा राख्छु । जसरी गाईले हरियो घाँस खान्छ र दूधचाहिँ सेतो दिन्छ, हरियो दिँदैन । अरूले दिएको कच्चापदार्थ अन्तरमनमा थुपारेर, फिलिङ्गसमा स्टोरेज गरेर गीत बनाउनु कला हो ।

तपाईं गीतको माध्यमबाट के सन्देश दिन चाहनुहुन्छ ?
साहित्यको पहिलो उद्देश्य आनन्द हो । साहित्यकारले दिने अर्ति–उपदेश गुरूले दिएजस्तो नभएर प्रेमिकाले या श्रीमतीले दिएजस्तो हुनुपर्छ । पहिले त गीतले पाठक–स्रोतालाई तान्न सक्नुप¥यो । अनि त्यसपछि कुरा बुझ्ने हो । संस्कृतमा अभिधा, लक्षणा, व्यञ्जना भन्ने हुन्छ । व्यञ्जना भएको साहित्य राम्रो मानिन्छ । एउटा अर्थ दिइसकेपछि फेरि अर्को अर्थ बुझोस् । सुन्नेबित्तिकै मुसुक्क हाँसोस् वाह ! क्या भनेको रहेछ ! भनेर घत लागोस् । अनि त्यहाँबाट अलिक पर गएपछि अर्को अर्थ बुझोस् र हाँस्नु परोस् फेरि मुस्कुराउनु परोस् । गीतमा पहिले आनन्द दिने हो । त्यसपछि बिस्तारै अर्ति–उपदेश दिने हो । हामीले मान्छेका लागि लेख्ने हो । गीतले मेरै कथा पो लेखेछ भन्ने फिल दिन सक्यो भने जीवन्त हुन्छ ।

पुरस्कार र सम्मानको स्थिति कस्तो छ नेपाली साहित्यमा ?
पुरस्कार एउटा सरकारी र अर्को गैरसरकारी छन् । पुरस्कारका बारेमा धेरै कथाहरु सुनेको छु । दुईटा पुरस्कार दुईजनाले राख्ने अनि एउटाले एउटालाई दिने र अर्काले अर्कालाई दिने गर्छन् रे । मैले अहिलेसम्म कसैलाई केही गरिदिएको छैन तर गीत गजलका धेरै अवार्ड पाएको छु । म पुरस्कार र सम्मानभन्दा पनि कृतिको शक्तिले मान्छे ठूलो र स्थापित हुने कुरामा विश्वास गर्छु । मेरो गीत कसैले पनि मनपराउनुभएको छैन भने पुरस्कारको केही अर्थ रहन्छ जस्तो लाग्दैन । स्रष्टाको मुख्य लक्ष्य भनेको सिर्जना नै हो ।

नेपाली साहित्यलाई विश्वव्यापी बनाउन के गर्नुपर्ला ?
यो विश्वव्यापी बनाउनचाहिँ हाम्रो भाषाको सीमितता छ । हामीले साहित्य बेजोड लेखेर अरू भाषीलाई आकृष्ट गर्ने अवस्था कम देखेको छु  । ‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन’ भन्ने गीत एउटा हिन्दी चलचित्रमा अनुवाद गरेर हालिदिएको रहेछ । मैले केएच बराल डटकम भनेर वेभसाइट खोलेको छु । त्यहाँ मैले केही किताबहरुको गीत सिद्धान्त र इतिहास, गीतको विशेषता, गजल सिद्धान्त र परम्परा, गजलको तत्व हालेको थिएँ । एकजना कुनै अङ्ग्रेजले लर्न मोर भनेर लेख्नुभएको रहेछ । त्यसबाट हाम्रो पनि लिने मान्छे भएछन् भन्ने महसुस भयो । अरू भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई माथि पु¥याउन सरकारी निकायहरु नै लाग्नुपर्छ । विदेशी भाषामा जाँदा हाम्रो नेपालीपन लानुपर्छ, त्यहाँ अङ्ग्रेजी, रसियन, चाइनिज स्टायलको लेखेर नयाँ हुँदैन । मलाई नेपाली लेखन एकदमै कमजोर छ भन्ने लाग्दैन ।

सिर्जना र समालोचनाको सम्बन्ध कस्तो हुन्छ ?
संसारमा सबभन्दा पहिलो कुरा त सिर्जना भयो र त्यसलाई चिनाउनका लागि सिद्धान्तहरु बने । दुःखान्त लेखियो अनि एरिस्टोटलले दुखान्तको सिद्धान्त बनाए, नाटक चर्चामा आए अनि भरतले नाट्यशास्त्र लेखे ।
सिर्जना शक्ति पटक्कै नभएको व्यक्ति राम्रो समालोचक हुनसक्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । इनारमा डुबेर बाहिर निस्किन नसक्नेलाई इनारमुनि बस्दा कस्तो हुन्छ भन्ने अनुभवै हुँदैन । सिर्जना उत्कृष्ट काम हो तर समालोचना पनि सजिलो काम होइन । त्यसैले सिर्जना शक्ति हुने समालोचकले नै समालोचनामा खास न्याय गर्छन् भन्ने मलाई लाग्छ । यो दुवैको घनिष्ठ सम्बन्ध छ । स्रष्टा नभई समालोचक हुँदैन र समालोचकलाई स्रष्टा नभई हुँदैन ।

साहित्यमा प्रगतिवाद भनेको के हो ?
माक्र्सवादी सिद्धान्तमा आधारित भई शोषक सामन्तलाई समाप्त गर्ने र सर्वहाराको शासनसत्ता स्थापना गर्ने दृष्टिकोणले लेखिएको साहित्यिक कृतिलाई प्रगतिवाद भनिन्छ । प्रगतिवादी हुनका लागि मान्छे पनि प्रगतिवादी, कम्युनिष्ट भए राम्रो भन्ने माओको दृष्टिकोण छ । तर, त्यो कम्युनिष्ट होइन भने पनि मान्छेले प्रगतिवाद त लेख्न सक्छ । मचाहिँ हरेक विषयलाई गीतमा राख्नुपर्छ, प्रयोग गर्न सकिन्छ र नयाँ विषय राख्नुपर्छ भन्ने सिद्धान्तको मान्छे हुँ ।

पहिले र अहिलेको साहित्यिक लेखनमा के फरक छ ?
अहिले साहित्यिक सिर्जना पनि मोबाइलबाट फेसबुकमा, युट्युबमा वा अनलाइनमा राखिदियो भने तत्काल संसारले हेर्न पाउँछ । अमेरिकाका पुस्तकालयका पुस्तकहरु यहाँ डाउनलोड गरेर पढ्न सक्छौं । बसाइँ उपन्यासमा शोषणले गर्दा गरिब, दुःखी बसाइँ सर्थे । माओवादीकालमा शोषकचाहिँ बसाइ सरे । त्यस्तो लेखेर अब हुनेवाला छैन । विषय अझ व्यापक भएका छन् । अनेकौं वादहरु आए । उत्तर आधुनिकवाद भन्छौं । कथा लेख्दाखेरी कविता पनि त्यहीं छिर्ने, नाटक पनि त्यहीं छिर्ने । विधा मिश्रण भयो । पहिले एउटा नायक हुन्थ्यो । अरू सहनायकहरु हुन्थे । अरू सामान्य पात्रहरु, गौण पात्रहरु हुन्थे । अहिले चार–पाँचवटा चरित्र छ भने को नायक थाहा हुँदैन । अहिले माक्र्सवाद र मनोविश्लेषणको पुनव्र्याख्या हुन थाल्यो । त्यसले हाम्रो लेखाइ, हाम्रो शैली परिवर्तन भएको छ ।

तपाईंको विचारमा गजलमा सौन्दर्य र शक्ति कस्तो रहेको हुन्छ ?
हरेक विधामा आ–आफ्नै सौन्दर्य छ । कुरो के हो भने गजल भनेको फरम्याट मिलाएर दुईदुई पङ्क्तिको शेर मिलाएर र काफिया मिलाएरमात्रै गजल हुँदैन । त्योचाहिँ एउटा मूर्ति बन्छ । सास हुँदैन । सास हुनका लागि कविताको जस्तै फिलिङ्गस चाहियो । अझ त्यहाँ त एउटा पङ्क्तिले उत्सुकता जगायो भने अर्को पङ्क्ति भन्दा वाह–वाह भन्ने चमत्कारपूर्ण प्रस्तुति हुनुपर्छ । अनि मात्रै गजल गजल बन्छ । गजल लेख्न सजिलो, मास्टर बन्न कठिन भनिन्छ । बेजोड गजल लेख्न गाह्रो छ । अहिले गजलको माहौल राम्रो छ । गजलमा बिस्तारै परिपक्वता आउँदैछ । मैले आधुनिक गीतको प्रतिस्पर्धामा गजलबाट धेरै अवार्ड पाएको छु । त्यसले गजलमा शक्ति छ र यसको विकास सन्तोषजनकरुपमा भइरहेको छ ।

तपाईँको जीवनको सबैभन्दा अविस्मरणीय कुन क्षणलाई मान्नुहुन्छ ?
मलाई अमेरिकामा कार दुर्घटनामा पर्दा डाक्टरले बाँच्दैन भनेर एउटा अस्पतालबाट अर्कोमा लैजान रेफर गरे । अर्को अस्पतालमा लाने गरी हेलिकप्टर चढाउने बेला मेरो छोरालाई ‘ममी पनि आउनुभएको छ भने अन्तिम दर्शन गराउनू’ भने । हामीले कोशिस गरेका मात्रै हौं भनेर माया मारेका थिए । भित्र स्मल इन्स्टेटाइन्ट फुटेर इन्टर्नल ब्लिडङ भएको रहेछ । शल्यक्रियाको क्रममा काट्दा रगत झरेको झ¥यै, तीन दिन प्लेटलेस भएको, रगत दिएर रगत थुनियो । नौ दिन बेहोस भएर पाँच दिनचाहिँ स्वरकल्पनाको अवस्थामा रहेर बाँचेर आएको मान्छे म । उपचारको क्रममा अब अभ्यास सुरू गर्नुपर्छ भन्न दुईजना आए । मैले के अभ्यास भनेको, आज मेचमा बस्ने भनें । म सुतेको सुत्यै थिएँ । मैले ‘मेरा हातका पाइप सबै झिकिदिनुस्, म अहिले पनि दगुरेर दौड जितिदिन्छु’ भनेपछि ठिक छ भनेर फुकाइदिए । जुरूक्क उठ्न खोज्दा जिउ हल्लिँदा पनि हल्लिएन । टाउको पनि उठाउन सकिनँ । म मनले दगुरे जित्छु भनेँ तर शरीर हल्लिएन । शरीर र मनमा यत्रो ठूलो दूरी रहेछ । योभन्दा विचित्रको के अनुभव गर्नु ?

बालसाहित्यलाई कुन रुपमा लिनुभएको छ ?
आजका बालबालिका नै भोलि देश हाँक्ने व्यक्तिहरु हुन् । कुनै बिरूवा सानैमा मल नभएको ठाउँमा खिस्रिक्क परेर उम्रियो भने पछि जति मल हाले पनि त्यसको स्थिति खिस्रिक नै हुन्छ । बच्चैदेखि नै उनीहरुलाई सही बाटो देखाउने, रूचिको विषय पढाउने र पढ्ने आदत सिर्जना गराउनुपर्छ । हामीकहाँ भने बालसाहित्य सन्तोषजनक देख्दिनँ । बालसाहित्य प्रायः ठूलाले लेख्ने र बढी अर्ति–उपदेश छ ।

नयाँ लेखकहरुलाई के सुझाव दिनुहुन्छ ?
लागि पर्नुपर्छ । लेखनमा निरन्तर लाग्नुपर्छ । मैले यो किताब निकालेँ, खोई कसैले केही गरेनन् ? भनेर छोडनुहुँदैन भन्छु । अर्को कुरा राम्रा–राम्रा लेखकका कृतिहरु पढ्नुपर्छ । उपन्यास लेख्ने हो भने देशविदेशका राम्राराम्रा उपन्यासहरु पढ्नुप¥यो । त्यसको सिद्धान्त पढ्नुप¥यो । कति–कति किसिमका परिवर्तनहरु आए, के–के धारा आए ? त्यो हेरेपछि आफू कता जाने निक्र्योल गर्नुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार