सुनिता गिरीको ‘माइत जाने बाटो’लाई पारिजात पुरस्कार

हङकङ

साहित्यकार सुनिता गिरीको कविता सङ्ग्रह ‘माइत जाने बाटो’लाई पारिजात पुरस्कार प्रदान गरिएको छ । नेपाली भाषा तथा साहित्य परिषद् हङकङले पारिजात स्मृति दिवसको अवसर पारेर प्रदान गर्ने पारिजात पुरस्कार यो वर्ष सुनिता गिरीको कविता सङ्ग्रह ‘माइत जाने बाटो’लाई प्रदान गरेको हो ।

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ताम्रपत्रसहित दुई हजार दुई सय २२ हङकङ डलरको उक्त पुरस्कार हङकङमा आयोजित एक कार्यक्रमा गिरीलाई प्रदान गरेका छन् ।

पुरस्कार वितरण समारोहमा निर्णायक सिर्जनशील साहित्य समाजका अध्यक्ष तथा कवि हाङयुग अज्ञातले प्राप्त भएका तीन कृतिमध्ये ‘माइत जाने बाटो’लाई उत्कृष्ठ ठहर गरिएको नतिजा सार्वजनिक गरेका थिए । उनका अनुसार पुरस्कारका लागि पूर्णिमा साहको कवितासङ्ग्रह ‘सपनाको क्षितिज’ र नरजीत राईको कवितासङ्ग्रह ‘मनोबिम्व’ पेश गरिएका थिए ।

फाउण्डेसनका सचिव अमोद राईले हङकङमा नेपाली भाषा तथा साहित्यको संरक्षण र सम्बर्धनका लागि विगत तीन वर्षदेखि नियमित पुरस्कार प्रदान गरिएको जानकारी गराएका थिए ।

उनका अनुसार एक वर्षमा हङकङबाट प्रकाशित मध्ये एक उत्कृष्ठ नेपाली साहित्यिक कृतिलाई उक्त पुरस्कार प्रदान गरिने गरिएको छ ।

नेपाल क्लब हङकङले प्रकाशनमा ल्याएको कवितासङ्ग्रह ‘माइत जाने बाटो’मा ३२ वटा कविताहरु समाविष्ट छन् ।

यसमा तपाइको मत

अन्य समाचार