काठमाडौं,
चैत २८ ।
प्रदेश नम्बर–१ अन्तर्गत पर्ने पहाडी जिल्ला भोजपुरका गौरवका योजनाका लागि आवश्यक बजेट विनियोजन गरिदिन भोजपुरे सेवा समाज, काठमाडौंले माननीय अर्थमन्त्री युवराज खतिवडालाई अनुरोधसहित ज्ञापनपत्र बुझाएको छ ।
समाजका अध्यक्ष तथा समाजसेवी पासाङदोर्ची शेर्पाको नेतृत्वमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला, पूर्व सांसद तारादेवी राई, समाजका उपाध्यक्ष हरिकुमार राई, दावाँली मिलन क्लब, काठमाडौंका अध्यक्ष रोशन श्रेष्ठ, पूर्व सहसचिव गणेश राई, प्रा.डा. गोविन्दमानसिंह कार्की, समाजसेवी थपराज कट्टेल, दिलिपकुमार राई, सुशीला राईलगायत सम्मिलित प्रतिनिधि मण्डलले अर्थमन्त्रालयमै पुगी अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।
सो अवसरमा सेवा समाजका अध्यक्ष शेर्पा र पूर्वअर्थमन्त्री कोइरालाले भोजपुर अथाह प्राकृतिक स्रोत र सम्पदाको खानी भएको भन्दै केही गौरवका योजनाका लागि आवश्यक बजेट विनियोजन गरिदिन अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।
अर्थमन्त्री खतिवडाले भोजपुरको विकास र समृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।






