प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीसहित तीनदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं,
चैत २३ ।

प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीसहित तीनदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा निस्किएका हुन् ।

नेपाल एअरलायन्सको नियमित उडानबाट दिल्ली पुग्ने प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै राष्ट्रपति भवनमा पुग्नेछन् । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका ९ अधिकारीसहित भ्रमण टोली ५४ सदस्यीय हुने भएको हो ।

प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति भवनमा केहीबेर आराम गरेपछि उनले उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय व्यवसायीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ उनी नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत छन् ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।

यसमा तपाइको मत

अन्य समाचार