काठमाडौं,
चैत ११ ।
विश्व नेवार सम्मेलनको अवसरमा बृहत पुस्तक मेला हुने भएको छ । वल्र्ड नेवाः अर्गनाइजेशनको तत्वावधानमा यही मार्चको ३० र ३१ (चैत्र १६ र १७)तारीख गरी दुई दिनसम्म आयोजना हुने विश्व नेवार सम्मेलनको अवसरमा नेपालभाषा एकेडेमीद्वारा एउटा बृहत पुस्तक मेलाको आयोजना गरिने भएको हो ।
पुस्तक मेला आयोजनार्थ नेपालभाषा एकेडेमीका प्राज्ञ सदस्यहरु विजयरत्न तुलाधर असंबरे र प्रा. प्रेमशान्ति तुलाधरको संयोजकत्वमा एउटा उपसमिति गठन गरिएको कुरा एकेडेमीका सदस्य सचिव मल्ल के. सुन्दरले जानकारी गराए ।
नेपालभाषा एकेडेमीका सदस्य सचिव मल्ल के. सुन्दरका अनुसार यो पुस्तक मेला चौलाथ्व त्रयोदशी (चैत्र१५) विहिबार अपरान्ह पाँच बजे उद्घाटन गरीनेछ भने चैत्र १६ र १७ गतेसम्म (चतुर्दशी र पुर्णिामा) सम्म चल्नेछ ।
पुस्तक मेला काठमाडौंको खुशीबुँ स्थित नेपाः ब्यांक्वेटमा हुनेछ भने सोही स्थलमा नै दुई दिनसम्म विश्व नेवार सम्मेलन सम्पन्न हुँदैछ । पुस्तक मेलाको उद्घाटन समारोहमा वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष अमेरिका निवासी सिजन श्रेष्ठ प्रमुख अतिथीका रुपमा रहने छन् ।
नेपालभाषाको साहित्य वाङमयलाई संसारभरी फैलिएर बसेका नेवारहरुबीच पुर्याउने उद्देश्य लिएर आयोजना हुन लागेको सो पुस्तक मेलामा नेपालभाषा एकेडेमीको आफ्नै प्रकाशनहरुकासाथसाथै अरु पनि धेरै प्रकाशकहरुका स्टल रहने कुरा पुस्तक मेला समितिका संयोजक तुलाधरलें जानकारी गराएका छन् ।
पुस्तक मेलामा नेपालभाषाका अत्यन्त पुराना एवम् दुर्लभ कृतिहरुका साथ नयाँ कृतिहरुको पनि स्टल रहनेछ । करीब बीस वटा विभिन्न प्रकाशकहरुको स्टल रहने यो मेलामा नागार्जुन पब्लिकेशन, कुतः पिकाकः, नेपाल साहित्य मन्दिर ख्वप, बसन्त महर्जनया इन्साइट पब्लिकेशन, नेवाः जागरण मञ्च, लोक साहित्य परिषद, लोटस रिसर्च सेन्टर, नेपालभाषा केन्द्रिय विभाग, न्हू हिसु पुचः, धर्मकीर्ति विहार श्रीघः र सुखावति मल्टि प्रोडक्शन जस्ता संस्थाहरुलगायत साहित्यकार नजरराम महर्जन र चलचित्रकर्मि बासु शाही पनि आआफ्ना सङ्कलनहरु सहित उपस्थित हुनेछन् ।
वल्र्ड नेवाः अर्गनाइजेशनको आयोजनामा हुन गईरहेको विश्व नेवार सम्मेलनको अवसरमा नेपालभाषा एकेडेमीद्वारा आयोजना गर्न लागेको यो पुस्तक मेला प्रति यसरी उल्लेखनीय सङ्ख्यामा प्रकाशकहरुले चासो देखाएकोमा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले खुशी व्यक्त गर्दै यो एक प्रकारले नेपालभाषाका साहित्य वाङमय प्रति अहिले बढ्न थालेको कुराको सङ्केत हो भनि हर्ष प्रकट गरे ।






