१९ महिनापछि पुनः प्रधानामन्त्रीमा केपी ओली

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नवनियूक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।

समारोहमा पुर्व प्रधानमन्त्री, पुर्व मन्त्रीलगायत विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो । ओलीले जनताको नाममा सपथ लिएका थिए ।

त्यसअघि बिहीबारै ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

बुधबार मात्रै निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक नतिजा राष्ट्रपतिलाई बुझाएको थियो । आयोगले नतिजा बुझाएलगत्तै दलहरु नयाँ सरकार गठनमा लागेका हुन् ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डसहितका नेताले ओलीको प्रधानमन्त्रीको दावी राष्ट्रपतिसमक्ष पेश गरेका थिए ।प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् ।

माओवादीबाट सरकारमा जाने सदस्यको नाम टुङगो नलागेपछि प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद गठन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनीहरुलाई आजै राष्ट्रपतिले पद तथा गोपनियताको सपथ गराएकी छिन् ।

एमाले अध्यक्ष केपी ओलीको १९  महिनापछि पुनः प्रधानामन्त्रीमा दोस्रो ‘इनिङ’ सुरु भएको छ । बिहिबार बाम गठबन्धनले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष दावी पेश गरेसँगै ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवाको राजीनामा स्वीकृत गर्दै ओलीलाई ४१ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् । अब ओलीले नियुक्त भएको ३० दिनभित्र संसदबाट समर्थन जुटाउनुपर्ने हुन्छ ।

यसअघि ओली २०७२ असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले त्यसवेला २८८ दिन कार्यकारी प्रधानमन्त्रीका रुपमा देशको शासन सत्ता सम्हाल्ने मौका पाए ।

यसमा तपाइको मत

अन्य समाचार