शाखा अधिकृतहरुको सेवा प्रवेश प्रशिक्षण कार्यक्रमको शुभारम्भ

काठमाडौं,
पौष १८ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका नव नियुक्त शाखा अधिकृतहरुको सेवा प्रवेश प्रशिक्षण कार्यक्रम एक समारोहबीच औपचारिक रुपमा शुभारम्भ गरेको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा मुख्य अतिथिको आशनबाट बोल्दै लोक सेवा आयोगका अध्यक्ष, श्री उमेश मैनालीले राष्ट्र सेवकहरुले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सीपबाट जनतालाई छिटो–छरितो, गुणात्मकयुक्त, चुस्त सेवा प्रवाह गर्नेमा बिश्वास गरे । कठिन प्रतिस्पर्धाबाट छनौट भएर उत्तीर्ण हुनुभएका सबै नव प्रवेशी शाखा अधिकृतहरुलाई बधाई दिदै देशले वहाँहरुबाट अग्रगामी विकासकालागि ठूलो अपेक्षा राखेको बताए ।

कार्यक्रमका बिशेष अतिथि, मूख्य सचिब श्री लोकदर्शन रेग्मीले सच्चा निजामती कर्मचारी भएर देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिदै परिवर्तित राजनैतिक अवस्थामा अनुशासित भइ जनताका लागि उपयुक्त सेवा प्रवाह गर्न निजमती कर्मचारीको उल्लेख्य भूमिका रहने कुरामा जोड दिए ।

समारोहको अध्यक्षता ग्रहण गरेका नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्य प्रसाद न्यौपानेले देशको परिबर्तित सन्दर्भलाई दृष्टिगतगरी परिमार्जनसहितको पाठ्यक्रमबाट नव नियुक्त अधिकृतहरुलाई दीक्षित गराइने जानकारी गराए । उनले निजामती सेवाको उद्देश्यमा प्रकाश पार्दै कर्मचारीहरु सकरात्मक सोचसहित जनताको सेवा प्रवाहमा प्रतिबद्ध भएर लाग्नु पर्ने धारणा ब्यक्त गर्नुका साथै प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीहरु जनताको सेवकको रुपमा प्रस्तुत हुनुपर्ने एबम् सरकार र जनताबीचको सेतुको रुपमा कार्य गर्न उच्च नैतिकता र सदाचारलाई आफ्नो जीवन पद्धतिमा अबलम्बन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण बिभागका विभागीय प्रमुख तथा बरिष्ठ अध्ययन निर्देशक डा. केदारबहादुर रायमाझीले प्रशिक्षणका विषयहरुमा प्रकाश पर्दै स्वागत मन्तब्य दिएका थिए । सामान्य प्रशासन समूहको छ महिना र अन्य समूहको तीन महिना अवधि हुने उक्त प्रशिक्षणमा जम्मा ३७५जना प्रशिक्षार्थीहरु रहेका जसमध्ये महिला ७२ र ३०३ पुरुष रहेको समूहलाई १२ समूहमा बिभाजन गरी प्रशिक्षण दिन लागेको जानकारी दिदै अभ्यासमूलक प्रशिक्षण बिधिहरु, देश–दर्शन, कार्यालय आबद्धता लगायतका कार्यहरुले प्रशिक्षार्थीहरुलाई भविष्यमा आफ्नो कार्य क्षेत्रमा गइ काम गर्न सजिलो हुने कुराको जानकारी डा. रायमाझीले गराए ।

प्रशिक्षणमा प्रशिक्षार्थीहरुलाई शुभकामना दिने क्रममा सामान्य प्रशासन मन्त्रालयका सचिब श्री शंकर प्रसाद कोइराला, अर्थ सचिब श्री शंकर अधिकारी, संसद सचिवालयका सचिब श्री हिमलाल सुवेदी, महालेखा नियन्त्रक श्री रामकुमार आचार्य र उप–महालेखा परीक्षक श्री ईश्वर नेपाल लगायतले सम्बोधन गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार