कोरिया प्रायद्विप र अन्तरधार्मिक सहकार्य

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना हुने अन्तरधार्मिक नेतृत्व सम्मेलनमा सहभागी हुन नोभेम्बर १० का दिन सबै धर्मावलम्बीहरु कोरियन एयरको उडान हुँदै सियोल पुग्दा सियोल एयरपोर्टमा स्वागतका लागि उपस्थित स्वयंसेवकहरुले होटल लोट्टेसम्म पुग्ने यातायातको व्यवस्था गरिदिए । अघिल्लो दिनको उद्घाटनसत्र नेपालस्थित कोरियन दूतावासबाट प्रवेशआज्ञामा ढिलाइका कारण छुट्न गएकाले दोस्रो दिनको कार्यक्रमदेखि हामी सहभागी हुन सक्यौँ ।

काठमाडौंबाट साँझ ८ः३०मा उडेको कोरियन एयरलाइन्सको एयरबस सियोलमा नेपाली समय दुई बजेतिर अवतरण गर्दा स्थानीय समय बिहानको ५ः३० भएकाले उज्यालो भइसकेको थियो । हिन्दूधर्म गुरू तथा विद्वान् डा. चिन्तामणि योगी, अन्तरधार्मिक परिषद् नेपालका अध्यक्ष दामोदर गौतम, त्रिभुवन विश्वविद्यालय, बौद्धधर्म विभागका प्रमुख प्रा. डा. मिलन शाक्य, बौद्ध भिक्षु धर्ममूर्ति, इस्लामिक सङ्घ नेपालका पूर्वअध्यक्ष नजरूल हसन फलाही, वहाई धर्मका प्रतिनिधि नरेन्द्र पाण्डे तथा युनिभर्सल पिस फेडेरेसनका पियारत्न महर्जनसमेतको नेपाली टोली होटलमा पुग्नासाथ बिहानको प्रार्थनासभापश्चात् प्रारम्भ ब्रेकफास्ट खाएर प्रथमसत्रमा भाग लिन पुग्यौँ । विविध महत्वपूर्ण विषयमा हुने छलफल र निष्कर्षले विश्व शान्तिका लागि नयाँ मार्गचित्र कोर्ने हुनाले सम्मेलनप्रति मेरो आकर्षण बढेको थियो ।

  • केशवप्रसाद चौलागाईं

सम्मेलनमा सहभागिताका लागि आयोजक संस्था युनिभर्सल पिस फेडेरेसनका तर्फबाट काठमाडौंमा निम्ता पाउनासाथ कोरियन प्रायद्विपका बीचमा चर्किरहेको वाकयुद्धका साथै उत्तर कोरियाद्वारा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धका बाबजुत पनि लामोदूरीका क्षेप्यास्त्रहरु जापानी भूमिलाई समेत नाघ्दै परीक्षण गरिरहनुले विश्वको ध्यान केन्द्रित भइरहेकोप्रति विभिन्न विकल्पका बारे चिन्तन गरिरहेँ ।

आफ्नै देशमा माओवादी जनयुद्धले बनाएको घाउ र क्षति सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएपश्चात् पनि जस्ताको तस्तै पीडादायी रहेको अवस्थामा विश्व शान्तिका लागि हाम्रो चिन्ता र प्रयास कसरी सार्थक ठहरिएला भनी मनमनै प्रश्न गरिरहेँ । पहिलो दिनको पहिलोसत्र समाप्त भएपछि ११ नोभेम्बरका दिन वल्र्डकप स्टेडियम सियोलमा करिब ८० हजार दर्शकको उपस्थितिमा सम्पन्न शान्तिसभा तथा ¥यालीमा सबै धर्मका धर्मगुरूहरुले शान्तिका लागि प्रार्थना गर्दा विश्व नै त्यहीँ समाहित भएको अनुभूति भइरह्यो ।

दुई कोरियाको शान्तिपूर्ण एकीकरणका लागि आयोजित शान्तिसभा र ¥याली वास्तवमै उत्तेजना र घृणारहित शान्ति प्रार्थना र दबाव थियो । दोस्रो विश्वयुद्धको समाप्तिसँगै कोरियालाई उपनिवेश बनाउने जापान परास्त र ध्वस्त भएपछि साम्यवादी विचारधारामा अघि बढ्ने कि प्रजातान्त्रिक विचारधारामा भन्ने बहसले सन् १९५०–५३सम्म फैलिएको गृहयुद्धले अन्ततः २५ लाखभन्दा बढी कोरियालीहरुको ज्यान जानुका साथै दुई देशका रुपमा विभाजित हुन पुग्यो ।

ती दिन र क्षणलाई विश्व इतिहासका अध्येताहरुले पढ्दामात्रै पनि भावुक बन्ने गरेको पाइन्छ भने भोग्ने कोरियाली परिवारहरुलाई कस्तो पीडा पुग्दो हो ? आज यिनै पीडाहरुलाई मेटाउन शान्तिपूर्ण रुपान्तरणका साथै छिमेकी तथा विश्वलाई चुनौतीको भाषा सुनाउने उत्तर कोरियाली शासकलाई शान्त भावमा शान्ति सन्देश दिने प्रयास विश्व कुटनीतिका दृष्टिमा पनि उच्च रहेको मैले मूल्याङ्कन र महशुस गरेको छु ।

हालै विश्व शक्तिराष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो १२ देशको एसियाली भ्रमणका क्रममा दक्षिण कोरिया र चीनमा व्यक्त विचारभन्दा भिन्न शान्ति सन्देश वास्तवमै विश्वका लागि अनुकरणीय कार्यक्रम बन्न पुगेको छ । चीनको सहयोग महत्वपूर्ण ठानी चीनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपतिको उच्च प्रशंसा र दक्षिण कोरियामा उत्तर कोरियाली नेताप्रति चुनौती र आशालाग्दो विकल्पको कुरा गराइको स्थानमा यो धार्मिक प्रयास विश्वकै साझा भावना र प्रयास थियो । विश्वासको आधार थियो । वास्तवमा आफ्नो अखण्डताप्रतिको चिन्ता विश्वासकै कमीका कारण उत्पन्न भएकाले उत्तरकोरियाली जनता र राष्ट्रलाई विश्वास दिलाउने कार्य ट्रम्पको भ्रमणले भन्दा सय गुणा बढी यस अन्तरधार्मिक प्रयासले गर्न सक्यो । यही आधार र उपलब्धिलाई आयोजक संस्थाले उत्तर कोरिया, चीन र अमेरिकालाई सम्झाउन सकेमा सम्मेलनको सार्थकका साथै कुटनीतिक दृष्टिमा पनि सार्थक प्रमाणित हुनेछ ।

वल्र्ड कप स्टेडियममा प्रारम्भ भएको सभामा भारतबाट आउनुभएका हिन्दू गुरू स्वामी हरि चैतन्य पुरी, एफ.एफ.डब्ल्यू.पी.यू. अमेरिकाका अन्तर्राष्ट्रिय उपाध्यक्ष डा. कि हुन किम, नाओलोजियन एन्ड हिस्टोरियन, युनिभर्सिटीका फ्राइवोर्ग, स्वीजरल्यान्डका जुडाइज्म, जर्मनका प्रतिनिधि केमिन डे कारली, फ्रान्सका कैथोलिक धर्मगुरू मोनसिग्नर ज्याकस गिलोट, इस्लाम धर्मगुरू सेनेगलका सेख अहमद मवेक, बौद्ध धर्मगुरू भेनेरबल पायोन वेक (कोरिया), भेनेरेवल डा. प्रमहा नापाडोल साइसुटा (थाइल्यान्ड), कफसिन धर्मगुरू काङ देइ वोङ (कोरिया), सिन्थो धर्मका धर्मगुरू टोवासिगामोरी मिसिमा जिन्जालगायतका थुप्रै धर्मगुरूको बाहुल्यता थियो त्यो सभामा ।

जापानको सम्बोधन र प्रार्थनाले विश्वलाई नै मार्गदर्शन गर्न सामथ्र्य राख्दथ्यो । विभिन्न देशबाट सम्मेलनमा प्रतिनिधित्व गरेका ४ सय जतिको सहभागिता र छलफलका विषयवस्तुले हरेक विषयहरुमा धार्मिक नेतृत्व सक्षम हुने ग्यारेन्टी गर्दथ्यो । विश्वमै नीति–निर्माणका क्षेत्रमा धर्म र शान्तिलाई स्थापित गराउने प्रयासस्वरुप थालनी गरिएको सांसद्हरुको सङ्गठन आई.ए.पी.पी.को गतिविधिबारे प्रकाश पार्दै नेपालका एकनाथ ढकालले सबैलाई आश्वस्त तुल्याउनुभएको थियो । युनिभर्सल पिस फेडेरेसनको तथा आई.ए.पी.पी.को एसियाली नेतृत्व गर्दै रहनुभएका पूर्वमन्त्री एकनाथ ढकाल विश्वका सांसद्हरुको आकर्षण बन्दै जानुभएको कुराले नेपालले पनि भविष्यमा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराउन धार्मिक क्षेत्रको तर्फबाट सफल हुनेछ भन्ने आशा पलाउन सकेको छ ।

नेपालको द्वन्द्वकालको मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगको गठनपश्चात् पनि समाधान हुन नसकी द्वन्द्वपीडित र वेपत्ता परिवारले दुःख भोग्नु परिरहेकोतर्फ ध्यानाकर्षण गर्दा नेपालका लागि भविष्यमा के कार्यक्रम रहेको छ भन्ने मेरो प्रश्नको उत्तर दिँदै पूर्वमन्त्री ढकालले आफ्नो प्रतिबद्धता दोहो¥याउनुभएको थियो ।

नेपालका अर्का प्रतिनिधि विद्वान् मित्र डा. चिन्तामणि योगीले अर्को सत्रमा वक्ताको रुपमा बोल्दा अन्तरधार्मिक सहकार्यको महत्व र मानवता नै सबैको केन्द्रविन्दु रहेको कुरा मिठो तरिकाले प्रस्तुत गर्दा सम्पूर्ण सभा तालीको गडगडाहटले गुञ्जियो । अन्तर्राष्ट्रिय मञ्चमा अन्तर्राष्ट्रिय व्यक्तिहरुका माझ उहाँको प्रस्तुति सदैव प्रशंसनीय हुने गर्दछ । अन्तर्राष्ट्रिय विषयवस्तुमाथि बोल्न सक्ने सनातन हिन्दू धर्मका प्रवक्ताका रुपमा उहाँको स्थान अग्रणीय रहने गर्दछ । यसपटक पनि उहाँको प्रस्तुति भारतीयहरुभन्दा कम रहेन । नेपालीहरुको उपस्थिति र सहभागिता सदैव महत्वपूर्ण हुने कुरा प्रमाणित भएको छ यो सम्मेलनमा पनि ।

यसमा तपाइको मत

अन्य समाचार