दार्जीलिङ,
श्रावण ४
गार्खाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा भइरहेको आन्दोलन अब दिल्ली केन्द्रित गरिने भएको छ । तर, बन्द हड्ताल भने कायमै रहनेछ ।
मंगलबार कालेम्बुङ्गमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटीको बैंठकले दार्जिलिङ्गको आन्दोलनलाई जारी राख्दै केन्द्रिय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको छ ।
१५ दल र आन्दोलनलाई समर्थन गर्ने बुद्धिजीवीहरुको सहभागिता रहेको बैंठकले कमिटीले दिल्लीमै धर्ना, अनशन, सेमिनार गर्नुका साथै सरकारका मन्त्रीहरुलाई भेटेर गोर्खाल्याण्डको पक्षमा लबिङ्ग गर्ने निर्णय गरेको छ ।
बैंठकले आन्दोलनलाई थप सशक्त बनाउनका लागि दुई वटा समिति बनाउने निर्णय गरेको छ । एउटा समितिले सिक्किमसँग सहयागका लागि लबिङ गर्ने र अर्को समितिले पश्चिक बंगाल सरकारलाई भेटेर दबाव दिने र पहाडमा गरिएको खाद्यान्न नाकाबन्दी हटाउन माग गर्ने छ । आन्दोलनलाई मार्ग दर्शन गर्ने एक उच्चस्तरीय बुद्धिजीवीहरुको समिति पनि बनाउने कमिटिले निर्णय गरेको छ ।
दार्जिलिङ्गलगायत पहाडमा भइरहेको आम हड्ताल र प्रदर्शन जारी राख्ने आन्दोलनकारीहरुको निर्णय छ । छुट्टै राज्य गार्खाल्याण्डको माग गर्दै पाँच हप्ताअघिदेखि शुरु भएको आन्दोलनमा नौं जना आन्दोलनकारीको ज्यान गइसकेको छ ।
कालेबुङमा बसेको जीएमसीसीको बैठकले लिएका निर्णयहरूः–
१) पहिलो अगस्त दिल्ली पुग्नेगरी गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीको एउटा उच्चस्तरीय टोली दिल्ली जाने। टोलीले दिल्लीमा क्याम्प हालेर सेमिनार, धरना गर्ने, एमपी, मन्त्रीहरू भेट्ने, बुद्धिजीवीहरूसँग सहयोग र सहकार्य गर्ने अनि अनशन बस्नेछ, जो दिल्लीमा बसेर नै आयोजन गरिनेछ।
२) शीघ्रै गोर्खाल्याण्डको ब्लुप्रिन्ट तयार गर्ने।
३) बन्द र हड़ताल यथावत राख्ने।
४) जीएमसीसीको एउटा टोली दुई(चारभित्रमा सिक्किम आउने अनि सिक्किमका मुख्यमन्त्री, राज्यपाल र सांसदहरूसँग भेट गर्ने। सम्भव भए सिक्किमका अन्य राजनैतिक पार्टीहरूसँग पनि भेट्ने।
५) कोलकातामा पश्चिम बंगालका राज्यपाललाई भेट गरी पहाड़मा भइरहेका अन्याय र खाद्यान्न नाकाबन्दीको उजुरी र बहालका लागि आग्रह गर्ने।
६) सर्वभारतीय स्तरमा गोर्खा बुद्धिजीवीहरूको एउटा उच्चस्तरीय बौद्धिक तथा विशेषज्ञहरूको कमिटी बनाउने, जसले गोर्खाल्याण्डका लागि आवश्यक सबै सल्लाह, सुझाउ र सहयोग प्रदान गर्नेछ।
७) अहिलेसम्म विभिन्न विकास बोर्डहरूबाट राजीनामा दिने सबैलाई आभार प्रकट गरिएको छ। राजीनामा नदिएका बोर्डका अध्यक्ष, उपाध्यक्षहरूले शीघ्रै राजीनामा दिएर गोर्खाल्याण्डविरोधी वा जातिविरोधीको कलंकबाट आफूलाई बचाउन पुनः आग्रह गरिएको छ।
८) विधानसभामा पहाड़का विधायकहरूमाथि टीएमसी विधायक परेश पालले गरेको अभद्र व्यवहारको जीएमसीसीले कड़ा शब्दमा निन्दा गरेको छ।
९) सिलगढ़ीमा पहाड़माथि लगाइएको खाद्यान्न नाकाबन्दी शीघ्र खोल्नका लागि माग गरिएको छ। यसको निम्ति आवश्यक सबै दबाउमूलक कार्यक्रमहरू गरिनेछ।
१०) बैठकको शुरुआतमा सिक्किमका पूर्व मुख्यमन्त्री, गोर्खाल्याण्ड आन्दोलनलाई हृदयबाटै समर्थन र सहयोग गर्ने अभिभावक अनि नेपाली भाषा मान्यता संघर्षका पुरोधा नरबहादुर भण्डारीको निधनमा शोक प्रकट र श्रद्धाञ्जली अर्पण गरिएको छ। यसरी नै हिजो मिरिकमा पुलिसको गोलीले शहीद बनेका आशिष तामाङप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको छ।
११) पश्चिम बंगाल सरकारबाट पुरस्कार प्राप्त गरेका सर्जकहरूलाई पुरस्कार फिर्ता गरेकोमा बैठकले धन्यवाद ज्ञापन गरेको छ अनि बाँकी रहेका सबै साहित्यकार, संगीतकार र सर्जकहरूलाई बंगाल सरकारबाट प्राप्त गरेका सबै पुरस्कार फिर्ता गर्न पुनः आग्रह गरिएको छ।






