गीता खत्रीको झोखाङदेखि मजाटलानसम्म पढेपछि

– अरुणबहादुर खत्री ‘नदी’
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिकवर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । स्रष्टा गीता खत्री यसैका पछिल्ला उदाहरण हुन् । ‘झोखाङदेखि मजाटलानसम्म’ कवयित्री एवम् नियात्राकार गीता खत्रीको २०७१ जेठमा प्रकाशित भएको थियो । यस कृतिभित्र झोखाङ मन्दिर र राजकुमारी भृकुटी, हङकङको कमाइ, मजाटलानको एक फन्को, महासागरमै ठोक्किएको बाटो, पैसाको लागि असिन–पसिनलगायत विभिन्न शीर्षकका चौबीसवटा नियात्राहरु समेटिएका छन् । अक्षरलाई शिरमा राखेर मन, वचन र कर्मले उठेकी स्रष्टा गीता खत्रीले नेपाली भाषासाहित्य पुगेको पृथ्वीको अन्तरकुन्तरमा आफ्नो सिर्जनात्मक र सङ्गठनात्मक कृत्यको सग्लो परिचय भ्रमण गराइसकेकी छिन् । ती कर्मठ नारी स्रष्टाको यस सङ्ग्रहभित्रको झोखाङ मन्दिर र राजकुमारी भृकुटी शीर्षकको पहिलो नियात्रामा नारीमा कस्तो शक्ति हुँदोरहेछ कत्रो त्याग र तपस्या हुन सक्ने रहेछ भन्ने कुराले नियात्राकार गीताको हृदय द्रविभूत भयो । भृकुटीको देश बचाउने क्रममा आफ्नो व्यक्तिगत इच्छा, आकांक्षा, चाहना सबैलाई बिर्सिएर आफ्नो भाषा, संस्कृति केही नमिल्ने ठाउँमा कसरी जीवन बिताइन् होला । अहिले आफूलाई त्यो ठाउँमा राखेर सम्झदा पनि कहाली लागेर आउँछ भनिएको छ । हङकङको कमाइ शीर्षकभित्र हङकङ ४२६ वर्गमाइलमा फैलिएको रहेछ । ४.५० प्रतिशत पानीले ढाकेको भए पनि जताततै पानीपानी देखिने र वरिपरि साना–साना डा“डाले घेरिएको उपत्यकै भने पनि हुने । डाँडाभरि ठूलाठूला घरहरु ठड्याइएका, माथि डाँडाबाट तल हेर्दा कति लोभलाग्दो दृष्टि भनिएको छ । मजाटलानको एक फन्को शीर्षकभित्र मेक्सिकोको ऐतिहासिक स्क्वायर संसारको सबैभन्दा ठूलो पब्लिक स्क्वायर रहेछ काठमाडौँको रत्नपार्कजस्तै । मेक्सिकेको मुटु रहेछ यो । यसैमा विरोध जुलुस हुने यसमै समर्थन जुलुस निकाल्ने यसमै जात्रा देखाउने यस्तै चाडपर्व मनाइने भनेर नियात्राकार गीताले लेखेकी छिन् । दिवाभोजमा हराएका अतिथि शीर्षकभित्र हामी सबैभन्दा ढिला पुग्यौँ । अरुले खाना खाइसक्दा हामी खाँदै थियौँ । खाना खाइसकेका अतिथिहरु विस्तारै अरोरातिर लाग्दै हुनुहुन्थ्यो, कोही खाना खाइरहनुभएको थियो । हामी भने नयाँ अनुहारसँग कुरा गर्ने विचारमा थियौँ तर समय नभएकाले छटपटी लागिरहेको थियो भनिएको छ ।
कोलोराडोमा भानुजयन्ती शीर्षकभित्र तीनै दिन फुड प्वाइजन शब्द कोलोराडोभरि व्यापक भयो । घरघरमै यसको चर्चा भएछ, कार्यक्रमभरि यसैको कुरा भयो । यस पटकको यात्रामा सुरmदेखि अन्त्यसम्म पनि फुड प्वाइजनले निकै चर्चा पायो भनिएको छ । रक्की पर्वतको चिसो हावा शीर्षकभित्र कोलोराडोको इस्टेट पार्क छिर्न प्रवेश शुल्कबापत एउटा मोटरको २० डलर तिर्नुपर्ने रहेछ । रक्की पर्वत शृङ्खलामा जम्माजम्मी ७२ वटा विभिन्न नाम गरेका पार्क रहेछन् । ती मध्येको इस्टेटपार्क एक हो । यो पर्वत शृङ्खलाको सबैभन्दा अग्लो भाग समुद्रसतहबाट १४४४० फिटको उच्चाइसम्म रहेछ । जसको नाम अलबर्ट पर्वत हो । आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो । प्रस्तुत कृतिमा स्रष्टा गीताले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेकी छिन् । साथै, यस सङ्ग्रहभित्रका नियात्राहरुमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात् पाइन्छ । नियात्राकार गीताले हामीलाई युरोप, एसिया, अमेरिका, दक्षिण अमेरिकाका अनेक भूभाग मनमौजी तालले घुमाउ“छिन् । एसियाका दुई संस्मरण रहेका छन् तिब्बत र हङकङबारेका तीतामीठा विरचणसाथ । अमेरिकी सहर र स्थानका अनेक स्मृतिले यहाँ ठाउँ पाएका छन् । एक दर्जनभन्दा बढ्दा नियात्राहरु अमेरिकाली सन्दर्भ, परिवेश र पात्रकै सेरोफेरोमा रहेका छन् । धेरै नियात्राहरु त साहित्यकै वरिपरि गाँसिएका छन् । विशेषतः कोलोराडोसँग जोडिएर आएक डेनभर, रक्की, अरोरा, माउन्ट एभान्स वा एटलान्ससँग टाँसिएर आएका अथवा वासिङ्टन डिसीसँग मिसिएर आएका रचनाहरु साहित्य र साहित्यिक कर्मकै प्रतिफल हुन् भन्दा पनि हुन्छ ।
नियात्राक्रममा इन्डियाना पोलिसको आन्मा–नासाको प्रसङ्ग र विविध अनुभूतिलाई यहाँ समावेश गरिएको छ । यसले व्यक्ति र प्रवृत्तिका चरित्रलाई बुझ्न सघाउँछ । आजको समयमा यात्रा वृत्तान्तका लेखहरु निकै देखिन थालेका छन् । कतै निबन्धको रुपमा भेटिन्छन् भने कतै घुमन्ते कथाको रुपमा । पाठक आफूले नटेकेको ठाउँ, आफ्नो आँखाले नदेखेको दृश्य लेखकको वर्णनबाट त्यहाँ पुग्न सक्ने र देख्न सक्ने रहेछ । सबैले सबै ठाउँ घुम्ने र देख्ने कुरा पनि सम्भव हु“दैन । त्यसैले यात्रा वृत्तान्त पढ्दा आफैँ त्यो ठाउँ पुगेजस्तो लाग्नु स्वाभाविकै हो । यात्राले पाठकलाई त्यहीँ पु¥याउन सकिने गर्भिलो भावना उमार्दो रहेछ । डेनभरको सिमसिमे पानी शीर्षकभित्र डेल्टाको जहाज धेरैजसो ढिला हुन्थ्यो, आज भने समयमै उडायो । कलिलो घामलाई छिचोल्दै हवाईजहाज पश्चिमतिर लाग्यो । एकैछिनमा बाक्लो बादललाई पन्छाउँदै जहाज फुत्त नीलो आकाशमा निस्क्यो । कस्तो मनमोहक दृश्य तलतल सेता बादलहरु एकनाशले मिलेर बसेको चारैतिर नीलो सफा आकाशमा हामी बसेको हवाईजहाज मात्रै एकनाशले पश्चिमतिर हुइँकिरहेको थियो, नियात्राकार गीता भन्दछिन् । यात्रा वृत्तान्तको गीताको यो पहिलो कृति हो । नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ । यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ, उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरु रोचक र रसिला छन् । यात्राहरु पेचिला र पुष्टकारी प्रतीत छन् । अन्त्यमा समग्ररुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा गहन स्थान लिएको छ । यस्तै अन्य कृतिहरु पढ्न पाइरहने अपेक्षा गर्दछु । ०००

यसमा तपाइको मत

अन्य समाचार