देवीस्थानलाई गायक हेमनले प्रदान गरे कम्प्युटर

काठमाडौं,
ज्येष्ठ १९ ।
साङ्गीतिक माध्यमबाट सामाजिक सेवामा समर्पित गायक हेमन मोक्तानले ‘हेमन मोक्तान फाउन्डेशन’ मार्फत् अध्यारोबाट उज्यालोतिरको यात्रा शिक्षाका लागि साङ्गीतिक अभियान थालेका छन् । सोहि अभियान अन्तर्गत उनले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका– १ दुम्जास्थित देवीस्थान माध्यमिक विद्यालयमा १० थान कम्प्युटर हस्तान्तरण गरेका छन् । सो कम्प्युटर ल्यावको उद्घाटन एयुईस्थित नेपाली व्यवसायी तथा समाजसेवी उमेश कुमार न्यौपानेले शुभारम्भ गरे ।
गायक हेमनले भर्खरै युएईको एक महिने साङ्गीतिक अभियान सम्पन्न गरेका थिए । उक्त अभियानमा सङ्कलित रकमबाट विद्यालयलाई कम्प्युटर सहयोग गरिएको गायक हेमनले जानकारी गराए ।
कार्यक्रममा दुवई बिजनेश काउन्सीलका उपसभापति उमेशकुमार न्यौपाने, मानव जीवन संरक्षण मञ्चका सचिव रिना शाही, हेमन मोक्तान फाउण्डेशनका अध्यक्ष हेमन मोक्तानले बालबालिकाको शिक्षाका लागि साङ्गीतिक अभियान गरी सहयोग जुटाउने अवसरका लागि सबैमा धन्यवाद दिएका थिए । आगामी दिनमा पनि विद्यालयको शैक्षिक उन्नतिका लागि सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरे उनीहरुले ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइरालाले शिक्षाको क्षेत्रमा सिन्धुलीमै नमूना विद्यालयको रुपमा देवीस्थानले सफलता प्राप्त गरिरहेको बताए । सो विद्यालयले १५ वर्षदेखि सिन्धुलीका साथै काभ्रे र रामेछाप जिल्लाका बालबालिकालाई अङ्ग्रेजी माध्यममा शिक्षा दिँदै आएको छ । इन्टरनेट सुविधासहितको कम्प्युटर शिक्षाले बालबालिकाको अध्ययनमा अझ सहयोग पुग्ने विश्वास अध्यक्ष कोइरालाको थियो ।
ब्यवस्थापन समितिका जेष्ठ सदस्य तीर्थबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण नेपालले कम्प्युटर दाताहरुलाई धन्यवाद दिँदै दाताहरुको सहयोग र साथले विद्यालयले गुणस्तरीय शिक्षा प्रदानमा सफलता प्राप्त गरेको बताए । कार्यक्रममा गायक हेमन मोक्तान र नारायण थापाले साङ्गीतिक प्रस्तुति पनि दिएका थिए भने विद्यालयका बालबालिकाले कविता, गजल वाचनाका साथै नृत्य प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार