काठमाडौं,
ज्येष्ठ १० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । दाहालले संसदमा सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दियो । दुई दिनसम्म चलेको सहमतिको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने निर्णय लिए ।
राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै उनले भने, ‘दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका थुप्रै उदाहरण हामीसँग छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कुनै पनि समझदारी पालना भएका छैनन् ।’ तर, आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको भन्दै उनले भने, ‘नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु ।’
उनले दोस्रो चरणको चुनाव आफ्नो नेतृत्वको सरकारले नै गराओस् भन्ने सिंगो देश र प्रतिपक्षको सदिक्षाप्रति आभार प्रकट गरे । सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोस र छटपटीको परम्परा तोड्दै अवका दिनमा राजनीतिज्ञ, सांसद र नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा क्रियासिल रहने प्रतिवद्धतासहित आजै र अहिले नै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्छु ।’
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता र सहमतिका निम्ति प्रयासरत रहने समेत बताएका छन् ।प्रचण्डले फरक विचारसँगको गठबन्धनको सरकारमा पनि कुनै समस्या नभएको उल्लेख गरे । ‘गठबन्धन सरकारका आफ्ना सीमा हुन्छन्, फरक फरक दलबीच केही जटिल र पेचिलो हुन्छ, तर मलाई जटिलता परेन’, उनले भने, ‘सबैलाई धन्यवाद दिन चाहन्छु ।’






