पत्रकार सचितलाई रत्न वाङ्मय पुरस्कार तथा २२ वटा औपन्यासिक कृति सामूहिक रूपमा लोकार्पण

काठमाडौं,
वैशाख १० ।
सहिद रत्नकुमार बान्तवा वाङ्मय पुरस्कार लेखक तथा पत्रकार सचित राईलाई प्रदान गरिएको छ । ‘आँखा’ विकास पत्रिकाद्वारा सहिद बान्तवाको नाममा स्थापित पुरस्कार अनुसन्धानमूलक कृति ‘माङखिम’का लागि पत्रकार राईलाई नगद ५ हजार १ रुपैयाँका साथै ताम्रपत्रसहित प्रदान गरिएको हो ।

राजधानीमा शनिबार पाँचथर स्रष्टा मञ्चसँग संयुक्त रूपमा आयोजित कार्यक्रममा पत्रिकाका सम्पादक तथा प्रकाशक डा. देवी क्षेत्री दुलालले कौशिला थापा र लीलादेवी दुलालको स्मृतिमा सहिद रत्नको नाममा वाङ्मय पुरस्कार स्थापना गरेको जानकारी गराए । रत्न–बम स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका डा. दुलालले भने, ‘सहिद रत्नले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानलाई अनुसन्धानमूलक कृति ‘माङखिम’मार्फत उजागर गरिदिनुभएकोमा इलाम जिल्ला माङ्सेबुङ गाउँपालिका (साविक बाँझो गाउँ विकास समिति वडा नम्बर ६)का युवा स्रष्टा तथा पत्रकार राईलाई पुरस्कृत गरिएको छ ।’ पत्रकार राईका ‘माङखिम’सहित कवितासङ्ग्रह ‘अर्को भ्रम’लगायत कृति प्रकाशित छन् ।
साहित्यकार डा. तुलसी भट्टराईले ताम्रपत्र र सम्पादक डा. दुलालले नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम साहित्यकार प्रा. राजेन्द्र सुवेदीले रत्नसँग आफूले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्यापन गरेको सुनाए । इलामको चमैता गाविसमा २००८ साल चैत २७ गते जन्मिएका बान्तवा पञ्चायत विरुद्ध लाग्दा २०३५ चैतमा उही मितिमा २७ वर्षको उमेरमा प्रहरीद्वारा मारिएका थिए । उनलाई सरकारले झन्डै ३८ वर्षपछि गत वर्ष सहिद घोषणा गरेको थियो ।

पत्रकार राईले नेपाली समाजमा उनको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको उल्लेख गर्दै पुरस्कारले थप जिम्मेवारीबोध गराएको बताए । ‘माङखिम’मा रत्नसहित २००७ सालको क्रान्तिका कमान्डर रामप्रसाद राई, महिला आन्दोलनका अगुवा सरस्वती राई, राष्ट्रिय विभूति फाल्गुनन्ददेखि जोसमनी सन्त परम्पराका अगुवा शशिधर, सन्त ज्ञानदिलदासलगायत व्यक्ति तथा विषयका फरक पाटो समेट्ने प्रयत्न गरेको उनको भनाइ थियो । ‘पुरस्कारका लागि माङखिम लेखेको होइन, मैले समाजका देखेका विषयलाई दस्तावेजीकरणको प्रयाससम्म गरेको हुँ’, उनले भने, ‘यद्यपि, मेरो कामलाई मूल्यांकन गरी पुरस्कृत गरिदिनुभएकोमा आभारी छु ।’

कार्यक्रममा पाँचथरका स्रष्टा गुरुङ रामप्रकाश समथिङले लेखेका २२ वटा औपन्यासिक कृति सामूहिक रूपमा लोकार्पण गरिएको थियो । साहित्यकारहरू प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, प्रा. डा. राजेन्द्र सुवेदी, डा. भक्त राई, डा. कुलराज निरौलालगायत पीएचडी ‘डाक्टर’हरूले ती कृतिको विमोचन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार