‘राज्जा रानी’ले ग¥यो दीपकलाई सहयोग

काठमाडौं,
वैशाख ५ ।
अभिनेता दीपक क्षेत्रीको घाँटीको उपचारमा विश्वव्यापी अर्थ संकलन भइरहेको बेला चलचित्र ‘राज्जा रानी’ले अर्थ संकलनमा सहयोगी हात बढाएको छ । निर्माता, कलाकार, निर्देशकले क्षेत्रीको डिल्लीबजारस्थित डेरामै पुगेर २ लाख ११ हजार नगद प्रदान गरेका छन् । निर्माता एमके पौडेल, निर्देशक याम केसी, अभिनेत्री केकी अधिकारी, अभिनेता नाजिर हुसेनले उक्त रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

५६ वर्षिय क्षेत्रीको उपचारका लागि गत फागुन १८ गते फिल्मले नेपालगञ्ज सेटमै रकम संकलन थालनी गरेको थियो । प्राविधिक, कलाकार र टीमले गच्छेअनुसार पैसा जुटाएका थिए । ‘हामी चाहन्छौं डबिङमा उहाँको वास्तविक आवाज रेकर्ड गर्न सकियोस्’ निर्माता पौडेलले भने, ‘हामी उक्त दिनको पर्खाइमा छौं ।’

राज्जा रानीमा क्षेत्रीले मुख्य अभिनेत्रीको पिताको भूमिकामा अभिनय गरेका छन् । नीजि क्षेत्रबाट सक्दो सहयोग भएपनि सरकारले आफ्नो उपचारमा वास्ता नगरेको भन्दै क्षेत्रीले दुःखेसो गरे ।

वर्ष २०४१ मा विश्वास नामक सिनेमाबाट अभिनय थालेका क्षेत्रीले डेढसयभन्दा चलचित्रमा अभिनय गरिसकेका छन् । उनकी पत्नी तथा अभिनेत्री बिपना बस्नेतले शल्यक्रियाका लागि आफूहरु जुट्ने जानकारी दिइन् ।

घाँटीमा मासु पलाएपछि चारवर्षदेखि अभिनेता क्षेत्रीको स्वर सुक्दै गएको हो । सुकेको स्वरमै उनले केही चलचित्रमा समेत अभिनय गरे । रकम जुटेपछि अब आफ्नो जीवनले नयाँ मोड लिनेभन्दै उनी हर्षित देखिन्थे ।

यसमा तपाइको मत

अन्य समाचार