फिल्मी खबरले घोषणा ग¥यो बर्षा र कालिप्रसाद वर्ष व्यक्ति

काठमाडौं,
चैत ३ ।

हरेक विहिबार प्रकाशित हुने ‘फिल्मीखबर’ साप्ताहिक पत्रिकाले यो वर्षको बर्ष व्यक्ति महिला र पुरुष घोषणा गर्नुका साथै सम्मान गरेको छ । पत्रिका स्थापनाको ७ बर्ष पुरा भएर आठौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा ‘बर्ष व्यक्ति महिला र पुरुष’ घोषित गरिएको हो । चलचित्र ‘नाई नभन्नु ल ४, छक्का पन्जा, जात्रा’ जस्ता सफल चलचित्रमा काम गरेर एकाएक चलचित्र क्षेत्रमा उदाएकी बर्षालाई पत्रिकाले ‘बर्ष व्यक्ति, महिला’ घोषित गरेको छ ।
यस्तै, ‘रेशम फिलिली, पुरानो डुङ्गा, लुट २’ जस्ता सफल चलचित्रका सफल संगीतकार तथा गायक कालिप्रसाद बास्कोटालाई ‘बर्ष व्यक्ति पुरुष’ घोषित गरिएको छ । त्यस्तै हालै चलचित्र पत्रकार संघको उपाध्यक्ष पदमा विजय भएकी गीता अधिकारीलाई सम्मान गरिएको थियो ।

कालिप्रसादले कार्यक्रममा आफ्ना चर्चित गीत गाएर सुनाएका थिए । यस्तै, नायिका बर्षा राउतले यो सम्मानले आफूलाई अझै उर्जा मिलेको बताइन् । कार्यक्रमका प्रमुख अतिथी बनमन्त्री शंकर भण्डारीले चलचित्र क्षेत्रलाई अब आउने बजेटमा उच्च स्थान दिन पहल गर्ने बताए । यस्तै, उनले फिल्म स्टुडियोका लागि पनि पहल गर्ने बताए ।

पत्रिकाका प्रधान सम्पादक शान्तिप्रियले ८ बर्षसम्म पत्रिका प्रकाशन गर्नु चुनौतीको बिषय भएको भन्दै त्यसलाई आफूहरुले पुरा गरेको बताए । कार्यक्रममा राप्रपाकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापाले पत्रिका नेपाली चलचित्र क्षेत्रका लागि फलदायी भएको बताइन् । त्यस्तै कार्यक्रममा प्रकाश सुवेदी, निर्देशक दीपाश्री निरौला, आकाश अधिकारी, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटालगायतले फिल्मी खबर साप्ताहिकलाई निरन्तरताका लागि बधाई तथा शुभकामना दिएका थिए भने नेपाली चलचित्रका बारेमा चर्चा गरेका थिए ।

फिल्मी खबरले यस अघि नारायण रायमाझी–दीपाश्री निरौला–०७२, सौगात विष्ट–प्रियंका कार्की–०७१, जीवन लुइटेल–नीशा अधिकारी–२०७० र आर्यन सिग्देल–रेखा थापा ०६९ वर्ष व्यक्ति घोषणा गरिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार