काठमाडौं
राजधानीको पुस ८ गते शुक्रवार अपराह्न राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को ३२ औँ शृङ्खलामा प्रगतिवादी कवि एवम् प्राज्ञ शशि लुमुम्बु गुञ्जिए । लुमुम्बुका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणी समेत गर्ने उक्त उद्देश्यमूलक विशेष समारोहको अध्यक्षता जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गरेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार पुष्करराज भट्टले गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशेष अतिथि पूर्व मन्त्रीद्वय शान्ता मानवी र कृपाशुर शेर्पा रहेका थिए । अन्य अतिथिहरूमा प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ माधव प्रधान, प्राज्ञ उदय श्रेष्ठ, वरिष्ठ साहित्यकार वासुदेव अधिकारी, वरिष्ठ कवि एवम् जन साहित्यिक मञ्च नेपालका सल्लाहकार कणाद महर्षि, डा।बालचन्द्र मिश्र, वरिष्ठ कवि रेशम विरही, वरिष्ठ गायक चेतनारायण राई, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का।वा।महासचिव प्रेमनाथ अधिकारी, प्रा।डा।बद्रीविशाल पोखरेल, वरिष्ठ पत्रकार श्याम रिमाल, वरिष्ठ गायक एवम् सङ्गीतकार श्याम तमोट, युद्धप्रसाद मिश्र प्रतिष्ठानका उपाध्यक्ष डा।फणीन्द्रराज निरौला, वरिष्ठ कवि रामबहादुर पहाडी, जन साहित्यिक मञ्च, नेपालका सल्लहाकार डा।नेत्र एटम रहेका थिए ।
कार्यक्रमा पुष्कर भट्टले हरेक महिनाको दोस्रो शुक्रवार ठिक २।३० बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो अभियानको बत्तिसौँ शृङ्खला सञ्चालन गर्न लागिएको बताए ।
कवि शशि लुमुम्बुले झन्डै तिन वर्षदेखि अविच्छिन्न रूपमा सञ्चालन भइ रहेको र कविता वाचन गर्ने कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समग्र चर्चा गरिने यो विशेष शृङ्खलामा आफ्ना कविता वाचन गर्ने अवसर प्राप्त भएकोमा हार्दिक आभार व्यक्त गर्दै आफ्ना नौ वटा सुन्दर र सशक्त कविता वाचन गरेका थिए । उनलाई कविहरू फुलमान बल, पूर्ण इन्फादा र चन्द्र रानोहान्छाले पनि कविता वाचनमा सहयोग गरेका थिए । कवि शशि लुमुम्बुको व्यक्तित्व तथा वाचित कवितामाथि चर्चा एवम् टिप्पणी जन साहित्यिक मञ्च नेपाल, काव्य विभागकी संयोजक डा।विन्दु शर्माले गरेका थिए ।
प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले लामो समयदेखि कविता सिर्जनाका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा समर्पित कविताका कुशल शिल्पी शशि लुमुम्बुका सुन्दर सशक्त कविता श्रवण गर्न पाइएको भन्दै कविको सिर्जना यात्रा अविच्छिन्न रहोस् भन्दै शुभ कामना दिएका थिए ।
सभाध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा आफूलाई समर्पित गर्नु हुने र नेपाली समाजको रूपान्तरण अभियानमा आफूलाई लगाउनु हुने अनि देश र समाजलाई सहयोग गर्ने असल कविलाई यो विशेष समारोहमा प्रस्तुत ग¥यौ भन्दै सशक्त कवि शशि लुमुम्बुका एक दर्जन कविता सुन्ने र उनको साहित्यकार व्यक्त्त्विका बारेमा समेत चर्चा गर्ने सोद्देश्यमूलक यो विशेष समारोहमा निम्ता स्विकारेर आइ दिने प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई स्वागत गरेका थिए ।
धन्यवाद सहित कार्यक्रमको समापन गर्दै जन साहित्यिक मञ्च नेपालकी उपाध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले ‘चालिसको दशकदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको नेतृत्व गरेको साहित्य सन्ध्यामा सँगै बसेर काम गरेका, निष्ठाका साथ आफ्नो कर्ममा लाग्ने शशि लुमुम्बु मुलुकलाई माया गर्ने, विकृति विसङ्गतिको विरोध गर्ने, लागेको कुरा प्रखरताका साथ अभिव्यक्त गर्ने, आफ्ना सिर्जनामा विचारलाई कलाको सुन्दर लेपन गरी शक्तिशाली सम्प्रेषण गर्न सक्ने स्रष्टा हुन्’ भनिन् ।






