अञ्जना गुरुङको स्वरमा ‘भोटेकोशी झैँ’ (भिडियोसहित)

काठमाडौं,
असोज २२ ।

स्वर माधुरी अञ्जना गुरुङको स्वरमा नयाँ गीत ‘भोटेकोशी झैँ’ सार्वजनिक भएको छ । प्रेम, पीडा र बदलाको भाव समेटिएको गीतको भिडियो अञ्जना गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सुमधुर सङ्गीत र भावनात्मक कथावस्तुलाई केन्द्रमा राखिएको गीतमा वरिष्ठ गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारको शब्द रचना रहेको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङगीत रहेको गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन छ । एसबी मुस्कानको सङ्गीत सञ्चयक तथा प्रकाश मिश्रको सङ्गीत सम्पादन रहेको गीत काठमाडौंस्थित अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

सुब्रत आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा पवित्रा आचार्य, माधवराज खरेल र याना सिलवालको अभिनय छ । अनिश स्याङदेनले छायांकन गरेको भिडियोमा केर डी. कोइन्च लिनुचले दृश्य सम्पादन तथा कलर छ ।

गीतको भिडियोमा प्रेमसँगै धोका र त्यसपछि उत्पन्न हुने बदलाको भावलाई कथानकका रूपमा प्रस्तुत गरिएको छ । आफूले माया गरेको व्यक्तिबाट धोका पाएपछि पात्रमा आउने मानसिक परिवर्तन र त्यसबाट जन्मिएको प्रतिशोधलाई भिडियोमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । गीत-सङ्गीतसँगै भिडियोमा कलाकारको अभिनय र कथावस्तुलाई पनि प्राथमिकता दिइएकाले ‘भोटेकोशी झैँ’ मनोरञ्जनात्मक र भावनात्मक दुवै दृष्टिले प्रस्तुत भएको छ ।

नेपाली गीत-सङ्गीतको क्षेत्रमा झन्डै तीन दशकदेखि सक्रिय कन्हैया सिंह परियार गायक तथा सङगीतकारका रूपमा स्पापित हुनुहुन्छ । उहाँले गायन र सङ्गीत सिर्जनासँगै गीत लेखनमा समेत आफूलाई स्थापित गर्दै आउनुभएको छ । उहाँका सिर्जनामा प्रेम, जीवन र मानवीय संवेदनाका विविध पक्ष प्रस्तुत हुँदै आएका छन् ।

अञ्जना गुरुङ नेपाली सुगम सङ्गीत तथा चलचित्र सङगीत क्षेत्रमा स्थापित गायिकाका रूपमा परिचित हुनुहुन्छ । लामो समयदेखि कन्हैया सिंह परियार र अञ्जना गुरुङबीचको सहकार्य नेपाली सङ्गीत क्षेत्रमा चर्चित रहँदै आएको छ । गायन, सङ्गीत सिर्जना तथा विभिन्न साङ्गीतिक गतिविधिमा निरन्तर सहकार्य गर्दै आएको यो जोडीले नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएको छ । अञ्जना गुरुङको गायन यात्रालाई सम्मान गर्दै गत वर्ष मिलापले उहाँलाई ‘स्वर माधुरी’ उपाधिसहित सम्मानसमेत गरेको थियो ।

लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका कन्हैया-अञ्जना दम्पतीले नेपाल आउने क्रममा हरेक वर्ष नेपाली श्रोता तथा दर्शकमाझ नयाँ साङ्गीतिक कोशेली प्रस्तुत गर्दै आउनुभएको छ । केही समयअघि उहाँहरूको स्वरमा रहेको गीत ‘फोटो खिचौँ न’ सार्वजनिक भएको थियो । उक्त गीतले पछिल्लो समय श्रोतामाझ राम्रो चर्चा पाइरहेको छ ।

कन्हैया-अञ्जनाको साङ्गीतिक सहकार्य गीत सिर्जना र गायनमा मात्र सीमित छैन । नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टा तथा कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूले ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’समेत स्थापना गरी प्रदान गर्दै आएका छन् ।

नेपाली गीत-सङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका विभिन्न स्रष्टा तथा कलाकारलाई प्रदान गरिँदै आएको उक्त पुरस्कारले साङ्गीतिक क्षेत्रमा सक्रिय प्रतिभालाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । हालसम्म गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०), लोकगायक रेशम थापा (२०८१) र गायक कमल विक ‘निर्मोही’ (२०८२) उक्त पुरस्कारबाट सम्मानित एवं पुरस्कृत भइसक्नु भएको छ ।

नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएकाका कन्हैया-अञ्जनाले आफ्ना सिर्जनामार्फत मनोरञ्जनसँगै नेपाली संगीतको संरक्षण, प्रवर्द्धन र स्रष्टाको सम्मानमा समेत योगदान दिँदै आउनुभएको छ । यसै क्रममा सार्वजनिक भएको ‘भोटेकोशी झैँ’ले उनीहरूको साङ्गीतिक सहकार्यलाई थप निरन्तरता दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार