काठमाडौं,
असोज २२ ।
नेवाः कला, संस्कृति तथा हास्य-व्यङ्ग्य क्षेत्रमा लामो इतिहास बोकेको संस्था ‘मुनासः’ले करिब ५० वर्षपछि ‘ख्यालः कासा’ अर्थात् हास्य–व्यङ्ग्य प्रतियोगिता आयोजना गरेको छ । नेपाल भाषाको हास्य-व्यङ्ग्य तथा सांस्कृतिक प्रस्तुतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ‘कय्ता तंम्ह नेवाः’ प्रथम भएको छ ।
नेपाल भाषा सिनेमा विकास केन्द्रको प्रस्तुतिमा रहेको उक्त ख्यालःका लेखक गणेशराम लाछी र निर्देशक आर्यम नकःमि क्रमशः उत्कृष्ट लेखक र निर्देशक घोषित हुनुभयो । ‘थ्व छु जूगु ?’ द्वितीय तथा ‘इमर्जेन्सी श्राद्ध’ तृतीय हुँदा ‘छन्त नं थथे याए यःला’ले सान्त्वना स्थान हासिल गरेको छ ।
प्रतियोगितामा ‘बांलाम्ह ख्यालिम्व ?’ (उत्कृष्ट अभिनेता)को उपाधि उमेश स्थापितले पाउनुभयो । उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘इमर्जेन्सी श्राद्ध’की शान्ता महर्जनले प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट शृंगारकर्तामा मीरा डंगोल र उत्कृष्ट मञ्च शृंगारमा ‘ह्विलच्यरं कुतुंवःम्ह नेवाः’का कविन महर्जन पुरस्कृत हुनुभयो ।
रमेशकाजी स्थापितको संयोजकत्वमा रहेको निर्णायक समितिमा वरिष्ठ संगीतज्ञ अमरराज शर्मा राजोपाध्याय, वरिष्ठ अभिनेता राजेन्द्रमान शाक्य र गणेश सायमी तथा साहित्यकार शम्भुराम श्रेष्ठ सदस्य हुनुहुन्थ्यो ।
प्रतियोगिताको समापन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ तथा मुनासःका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठलगायतको उपस्थिति थियो । कुनै समय ‘हास्य सम्राट’ मदनकृष्ण श्रेष्ठसमेत आबद्ध रहेको मुनासःले लामो अन्तरालपछि आयोजना गरेको प्रतियोगिताले नेपाल भाषाको हास्य-व्यङ्ग्य विधालाई पुनः मञ्चमा ल्याएको आयोजकले जनाएको छ ।






