झापा,
असोज १६ ।
ताप्लेजुङको देउलिङ्गेकी अनिशा न्यौपाने पछिल्लो समय कला क्षेत्रमा आफ्नो पहिचान बनाउँदै अघि बढनुभएको छ । अध्ययनसँगै कलाकारितालाई निरन्तरता दिँदै आउनुभएकी न्यौपाने झापाको बिर्तामोडमा बसेर मोडलिङ तथा अभिनय क्षेत्रमा आफ्नो भविष्य निर्माणका लागि सक्रिय हुनुहुन्छ ।
सानै उमेरदेखि मोडल बन्ने सपना बोक्नुभएकी अनिशाले पछिल्लो समय विभिन्न म्युजिक भिडियोमार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गर्दै आउनुभएको छ । श्रीकृष्ण लुईटेल ‘बोकेदाह्री’को ‘गारो छ हौ मलाई’ गीतको म्युजिक भिडियोबाट दर्शकमाझ परिचित बन्नुभएकी उहाँ त्यसपछि लोकप्रिय गायक राजेशपायल राईको स्वर रहेको ‘जाऊ कान्छी जाऊ’, गायक दीपक लिम्बूको ‘तिमीसँग बोलेपछि’, ‘घुम्ती बाटो मोडमै भेट भयो’ लगायतका म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ ।
म्युजिक भिडियोमा प्राप्त अवसर र दर्शकको प्रतिक्रियाले आफूलाई कलाकारितामा थप सक्रिय हुन प्रेरणा मिलेको अनिशा बताउँनुहुन्छ । मोडलिङलाई अभिनय यात्राको सुरुआती माध्यम बनाउनुभएको उहाँ अब विस्तारै ठूलो पर्दाको यात्रातर्फ पनि अघि बढ्ने तयारीमा हुनुहुन्छ ।
यसै क्रममा अनिशा मुकुद इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘मुन्नु’ मा अभिनय गर्दैहुनुहुन्छ । जानकी पन्त ‘जोन’को निर्माण तथा निर्देशन रहने उक्त चलचित्रमा अनिशाको अभिनय यात्राले नयाँ मोड लिने अपेक्षा गरिएको छ ।
मोडलिङ हुँदै फिचर फिल्मसम्मको यात्रा तय गर्ने लक्ष्य लिनुभएकी अनिशा मिहिनेत, निरन्तरता र अवसरलाई आफ्नो कलाकारिता यात्राको आधार मान्नुहुन्छ । नयाँ पुस्ताका कलाकारका रूपमा अघि बढिरहनुभएकी उहाँको अभिनय यात्रालाई सम्भावनायुक्त रूपमा हेरिएको छ ।






