ओहायोमा ‘डान्स विथ रुपेश’को उद्घाटन, ‘बाबा छोरा’ म्युजिक भिडियो सार्वजनिक

अमेरिका,
असोज ६ ।

अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा ‘डान्स विथ रुपेश-ग्लोबल डान्स स्टुडियो’को उद्घाटन गरिएको छ । कला, संस्कृति तथा नेपाली नृत्यको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको उक्त नृत्य स्टुडियोको आइतबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो ।

फेयरफिल्ड सहरकी उपमेयर डेबी पेनिङटन, विशेष अतिथि डिलाना डेभनपोर्ट तथा भुटानिज कम्युनिटी अफ सिन्सिनाटीका अध्यक्ष पुष्प लुईटेलले संयुक्त रूपमा रिबन काटेर स्टुडियोको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा स्टुडियोका संस्थापक, वरिष्ठ नृत्य निर्देशक तथा कलाकार रुपेश उप्रेतीले दीप प्रज्वलन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै फेयरफिल्डकी उपमेयर डेबी पेनिङटनले नेपाली समुदायले स्थानीय तहमा कला र व्यवसायको विकासका लागि सुरु गरेको नयाँ पहलको प्रशंसा गर्नुभयो । उहाँले स्टुडियो सञ्चालनका लागि बधाई तथा सफलताको शुभकामना दिँदै नगरका तर्फबाट आवश्यक सहयोग र सहकार्य जारी रहने बताउनुभयो ।

त्यस्तै, लङभाइभ गैरनाफामूलक संस्थाकी संस्थापक तथा केयरसोर्सकी सहायक उपाध्यक्ष डा. भर्जिनिया स्कटले स्टुडियोका विद्यार्थीले प्रस्तुत गरेको नृत्य तथा उनीहरूको ऊर्जा र अनुशासनको प्रशंसा गर्नुभयो । उहाँले नेपाली बालबालिकाको कला तथा प्रतिभाको प्रशंसा गर्दै आगामी दिनमा आफूले आयोजना गर्ने विभिन्न ठूला कार्यक्रममा समेत स्टुडियोका नृत्य कलाकारलाई सहभागी गराउने बताउनुभयो ।

उद्घाटन समारोहमा अमेरिकाका विभिन्न राज्यबाट नेपाली कलाकार, चलचित्रकर्मी तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज उत्तर अमेरिकाका क्षेत्रीय संयोजक राहुल केसी, वरिष्ठ चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाका उपाध्यक्ष तथा केन्टकीका चलचित्र निर्देशक सुमन दाहाल लगायतको उपस्थिति थियो।

स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरू टीकाराम सुवेदी, राजन चौहान, डा. भोला शिवाकोटी, सुरज गुरुङ, हरि सुवेदी, सीता रेग्मी, अनिता श्रेष्ठ, विष्णु सापकोटा, विष्णु खरेल, प्रकाश मिश्र लगायतका ३० भन्दा बढी विशिष्ट अतिथि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमको प्रमुख आकर्षण स्टुडियोका विद्यार्थीहरूको सांस्कृतिक नृत्य प्रस्तुति रहेको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेको नेपाली सांस्कृतिक नृत्यले उपस्थित अतिथि तथा दर्शकलाई उत्साहित बनाएको थियो ।

सोही अवसरमा रुपेश उप्रेती र आरभ उप्रेतीको अभिनय तथा निर्देशन रहेको ‘बाबा छोरा’ म्युजिक भिडियोको आधिकारिक सार्वजनिक तथा विशेष प्रदर्शनसमेत गरिएको थियो ।

भिडियोमा प्रस्तुत नृत्य, अभिनय तथा निर्माण शैलीले दर्शकको ध्यान आकर्षित गरेको थियो । भिडियो प्रदर्शनका क्रममा उपस्थित दर्शक तथा अतिथिहरू उत्साहित भएका थिए ।

उद्घाटन समारोहकै अवसरमा राजु केसी र राहुल केसीको पहलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, ओहायो शाखाको नयाँ कार्यसमितिसमेत सर्वसम्मत रूपमा गठन गरिएको छ ।

रुपेश उप्रेतीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा केशव पौडेल, महासचिवमा तुलराम अधिकारी र कोषाध्यक्षमा हेम फुयाल चयन हुनुभएको छ ।

कार्यकारी सदस्यमा डेबिड ढकाल, प्रकाश घिमिरे, शारदा धिताल, दुर्गा बान्तवा राई तथा डिल्ली चम्लागाईं रहनुभएको छ । पुष्प लुईटेललाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

रुपेश उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नवनियुक्त महासचिव तुलराम अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा तीज विशेष नृत्य तथा सांगीतिक प्रस्तुति गरिएको थियो । सहभागी कलाकार, अभिभावक तथा अतिथिहरू तीजका गीतमा नाचेर रमाएका थिए । सिन्सिनाटीका युवाहरूको ‘गर्जन’ ब्यान्डको प्रस्तुतिले पनि कार्यक्रमको माहोल थप उत्साहपूर्ण बनाएको थियो ।

समापनका क्रममा अध्यक्ष उप्रेतीले कार्यक्रममा उपस्थित अतिथि, अभिभावक, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै ओहायोमा नेपाली पहिचान, कला र संस्कृतिलाई जीवन्त राख्न स्टुडियोले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार