काठमाडौं,
असोज ६ ।
चलचित्र ‘चंगुल’को टाइटल गीत ‘झाँक्री’ सार्वजनिक गरिएको छ । ढ्याङ्ग्रोसहितको र्याप शैलीमा तयार पारिएको गीतले सामाजिक विकृति र भ्रष्ट शासकप्रति व्यंग्य गरेको छ ।
गीतमा नेपाललाई ‘सतीले सरापेको देश’ भन्ने भाष्यभन्दा पनि भ्रष्ट शासकको गलत नजर लागेको देशका रूपमा प्रस्तुत गर्न खोजिएको छ । भ्रष्ट शासकको नजरलाई झाँक्री बनेर मन्साउने प्रतीकात्मक दृश्य गीतको भिडियोमा देखाइएको छ ।
विक्रम कार्कीको संगीत रहेको गीतमा ओ नेगेटिभका राजु श्रेष्ठ र सन्देश पौडेलको स्वर छ । गीतका शब्द गायक श्रेष्ठ र अभिनेता रवि कार्कीले संयुक्त रूपमा लेख्नुभएको हो । गीतको कोरियोग्राफीसमेत रवि कार्कीले नै गर्नुभएको छ ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको ‘चंगुल’ यही असोज १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । बालकलाकार रिम्शा कार्कीको समेत चलचित्रमा अभिनय छ ।
चलचित्रका अन्य गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । देव महर्जनले द्वन्द्व निर्देशन गरेको चलचित्रको छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गर्नुभएको हो ।
चलचित्रको नाफाको केही हिस्सा घाइते जेन-जी नेपाललाई दिने तथा बाढीपीडितको सहयोगका लागि समेत रकम छुट्याउने निर्माण टिमले बताउँदै आएको छ ।






