यस्तो छ ‘चमेलीको पोइ’ को ट्रेलर

काठमाडौं,
असोज ५ ।

यही असोज १६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजीत कार्यक्रमबीच सार्वजनीक गरिएको हो । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्रको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनमा आउने उतावचढाव, बिश्वास, घात र मानवीय सम्बन्धका बान्कीहरू प्रस्तुत गरिएको छ । हाँस्दाहाँस्दै आँशु झार्ने अवस्था सृजना हुन पुग्ने ट्रेलरले पारिवारिक सम्बन्ध जगको कथा प्रस्तुत गरेको देखिन्छ ।

निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनात्मक चलचित्र भएको बताउनुभयो । दर्शकलाई साढे दुई घण्टा पूर्ण मनोरञ्जन दिने उद्धेश्यले चलचित्र निर्माण गरिएको उल्लेख गर्दै उहाँले भावनात्मक रुपले पनि दर्शकको मन छुने बिश्वास ब्यक्त गर्नुभयो ।

करिब १८ बर्षको अन्तरालपछि यही चलचित्रबाट ठूलो पर्दामा पुनरागमन गर्नुभएका चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठीले ‘चमेलीको पोइ’ बाट आफू निकै आशावादी भएको बताउनुभयो । उहाँले अमेरिकामा आयोजीत बिशेष शोहरूबाट दर्शकको अपार माया र साथ पाएकाले आफू अझ उत्साहीत भएको सुनाउनुभयो । ‘अमेरिकामा रहेपछि म नेपाली चलचित्रमा पुनरागमन गर्न चाहन्थें । बीचमा आफैँ चलचित्र निर्माण गर्ने कोसिस पनि गरेको थिए । तर, परिस्थितिले साथ दिएन,’ उहाँले भन्नुभयो,‘अहिले यो चलचित्रबाट पुनः दर्शकमाझ आउदैछु । यो मेरो अहोभाग्य हो । म पहिलाजस्तै चलचित्र अभिनयमा निरन्तर हुन चाहन्छु ।’ उहाँ दुई दशकअघिसम्म ‘प्रेमचरो’ को उपनामले चलचित्र तथा सानो पर्दामा निकै चर्चित रहनुभयो । उहाँ अमेरिका गएपछि भने ठूलो पर्दाका चलचित्र अभिनयमा बिराम लागेको थियो ।

अभिनेता मुकुनले ‘चमेलीको पोइ’ले बेजोड हसाउनुका साथै केही ठाउँमा राम्रैसँग सिरियस बनाउने बताउदै यत्तिको कमेडी चलचित्र आफूले यसअघि गर्न नपाएको खुलाउनुभयो । उहाँले भरपुर मनोरञ्जनका लागि यो चलचित्र नछुटाउन आग्रह गर्नुभयो । अर्का अभिनेता विल्सन बिक्रम राईले चलचित्र मनोरञ्जनले भरिपूर्ण भएको बताउनुभयो । उहाँले हाँस्य अभिनेता नारायण त्रिपाठीसँग बच्चाबेलामा ‘साथी’ फिल्ममा ‘स्क्रिन शेयर’ गरेको स्मरण ताजा गर्नुभएको थियो । त्यसैगरी, यही चलचित्रबाट ठूलो पर्दाको यात्रा सुरु गर्नुभएका उमेश राई (फुलन्देकी आमा)ले आफू निकै आशावादी रहेको बताउनुभयो ।

अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’ पछि दोस्रो सहकार्य गरेको उल्लेख गर्दै ‘चमेलीको पोइ’ आफूले खोज–चाहेको जस्तै कथा, परिबेश, पात्र र चरित्रमा अभिनय गर्न पाएकोमा कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले मुकुन भुसाल, नारायण त्रिपाठी जस्तो दिग्गज कलाकारसँग अभिनय गर्न पाएकोमा गौरवान्वित महसुस भएको सुनाउदै ‘चमेलीको पोइ’ हरेक कोणबाट उत्कृष्ट मनोरञ्जक चलचित्र बनेको जिकिर गर्नुभयो ।

निर्माता रामनारायण उपाध्यायले आफूहरुले उत्कृष्ट चलचित्र बनाउन कुनै कसर बाँकी नराखेको सुनाउनुभयो । उहाँले दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्धेश्यले चलचित्र बनाइएको र त्यसमा समाजीक सदभाव र पारिवारिक प्रेमको कथा समेत समाविष्ट भएको उल्लेख गर्नुभयो ।

शेरबहादुर तामाङले खिचेको चलचित्रको लेखनमा निर्देशन वोहरालाई शिवम् अधिकारीले सघाउनुभएको छ । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा, मुकुन, नारायण त्रिपाठी, विल्सनविक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई (फुलन्देकी आमा), अंशु महर्जन, बाबिन राई, तारा शर्मा, खड्गबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी, श्रेया नारायण लगायतका कलाकारको अभिनय छ ।

सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमीत्रा थापा र कपिल आचार्य हुनुहुन्छ । धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर, नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीपकुँवर सहनिर्माता रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी अनि कुमार महर्जनको द्वन्द्व निर्देशन छ । चलचित्रलाई आरआर फिल्मसले देशब्यापी बितरण गर्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार