भालाकुशारी प्रोजेक्टको विशेष बैठक सम्पन्न, तेस्रो चरणको अनुसन्धान प्रभावकारी बनाउने तयारी

✍️ अर्जुन प्रधान
ह्यारिस्बर्ग, पेन्सलभेनिया, ३ असोज

ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह, सामाजिक सरोकार तथा स्वास्थ्य सेवामा पहुँचसम्बन्धी विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुशारीका कार्यकर्ता, अनुसन्धानकर्ता र सल्लाहकारहरूको विशेष बैठक पेन्सलभेनियाको राजधानी ह्यारिस्बर्गमा सम्पन्न भएको छ ।

बिहीबार, सेप्टेम्बर १७, २०२६ मा सम्पन्न बैठकमा परियोजनाले हालसम्म सञ्चालन गरेका गतिविधि, समुदायसँगको सहकार्य, गुणात्मक अन्तर्वार्ताबाट प्राप्त अनुभव तथा आगामी कार्यक्रमको रूपरेखामाथि विस्तृत छलफल गरिएको थियो । बैठकको मुख्य जोड अनुसन्धानको आगामी तेस्रो चरणलाई समुदायको वास्तविक आवश्यकता र अनुभवसँग जोडेर अझ प्रभावकारी बनाउने विषयमा रहेको जनाइएको छ ।

बैठकमा प्रोजेक्टकी अनुसन्धानकर्ता तथा लेहाई विश्वविद्यालयकी सहप्राध्यापक डा. रोशेल एल. फ्रौनफेल्कर, रिसर्च साइन्टिस्ट पूजा थापा, पीएचडी विद्यार्थी आस्था सिंह, बीसीसीपीएका कार्यकारी निर्देशक तेज मिश्र, सल्लाहकार केशब बैरागी माइलो र बसुधा रिजाललगायत अन्य कार्यकर्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

ह्यारिस्बर्गमा बीसीसीपीएसँगको साझेदारीमा सन् २०२४ को अन्त्यतिर प्रारम्भ भएको प्रोजेक्ट भालाकुशारीले नेपाली तथा भुटानी मूलका ज्येष्ठ नागरिक, उनीहरूका परिवार र हेरचाहकर्ताको अनुभव, आवश्यकता तथा स्वास्थ्यसम्बन्धी चुनौती बुझ्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । परियोजनाले समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै स्वास्थ्य, सामाजिक सहयोग, हेरचाह तथा सेवा पहुँचसँग सम्बन्धित सरोकार पहिचान गर्ने प्रयास गरिरहेको छ ।

परियोजनाअन्तर्गत २० जना ज्येष्ठ नागरिक, उनीहरूलाई सहयोग तथा हेरचाह प्रदान गर्ने परिवारका २० जना प्रतिनिधि र १० जना स्वास्थ्य सेवा प्रदायकसँग गुणात्मक अन्तर्वार्ता सञ्चालन गरिएको थियो । यसअनुसार ज्येष्ठ नागरिक, परिवारका हेरचाहकर्ता तथा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत व्यक्तिसहित कुल ५० जनासँग अन्तर्वार्ता सम्पन्न भएको परियोजनाले जनाएको छ ।

ज्येष्ठ नागरिक र उनीहरूलाई सहयोग गर्ने व्यक्तिसँग गरिएका ४० वटा अन्तर्वार्ताको विश्लेषण भइसकेको छ । उक्त विश्लेषणबाट प्राप्त अनुभव, चुनौती तथा आवश्यकतालाई पोस्टरमार्फत प्रस्तुत गरिएको छ । अनुसन्धानबाट प्राप्त निष्कर्षलाई सरल र समुदायमैत्री भाषामा सार्वजनिक गर्दै त्यसका आधारमा उपयोगी कार्यक्रम निर्माण गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

बैठकमा परियोजनाले ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्दा सामना गर्ने कठिनाइ, स्वास्थ्यसम्बन्धी सूचना बुझ्न आवश्यक सहयोग, पारिवारिक हेरचाहकर्ताको भूमिका, भाषा तथा सांस्कृतिक पक्ष, सामाजिक एक्लोपन तथा उपलब्ध सेवासम्म पहुँचजस्ता विषयमा अध्ययन गरिरहेको जानकारी दिइएको थियो ।

प्रोजेक्टकी अनुसन्धानकर्ता तथा लेहाई विश्वविद्यालयकी सहप्राध्यापक डा. रोशेल एल. फ्रौनफेल्करले आगामी कार्यक्रम तथा अनुसन्धानको तेस्रो चरणलाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँले अघिल्ला चरणमा संकलन गरिएका अनुभव, अन्तर्वार्ता र समुदायबाट आएका सुझावलाई आधार बनाएर अनुसन्धानको आगामी चरण अघि बढाउनुपर्नेमा जोड दिनुभयो । ज्येष्ठ नागरिक, उनीहरूका परिवार, हेरचाहकर्ता र स्वास्थ्य सेवा प्रदायकको प्रत्यक्ष सहभागितालाई थप सुदृढ बनाउँदै अनुसन्धानका निष्कर्षलाई व्यवहारिक कार्यक्रम तथा समुदायका लागि उपयोगी सामग्रीमा रूपान्तरण गर्नुपर्ने उहाँको धारणा थियो ।

डा. फ्रौनफेल्करले समुदायको वास्तविक आवश्यकता, भाषिक सहजता, सांस्कृतिक संवेदनशीलता र स्वास्थ्य सेवामा पहुँचका चुनौतीलाई ध्यानमा राखेर आगामी कार्यक्रम तयार गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालय र सामुदायिक संस्थाबीचको सहकार्यलाई निरन्तरता दिँदै समुदायको आवाज, अनुभव र सुझावलाई तेस्रो चरणको अनुसन्धानमा प्राथमिकताका साथ समेटिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा सहभागी सल्लाहकार केशब बैरागी माइलोले छोटो अवधिमै परियोजनाले उल्लेखनीय काम गरे पनि त्यसबारे सञ्चारमाध्यमसम्म पर्याप्त जानकारी नपुग्दा प्रोजेक्ट ओझेलमा परेको धारणा राख्नुभयो । ‘यति छोटो समयमा थुप्रै काम भएको छ, तर मिडियासम्म नपुग्दा प्रोजेक्ट ओझेलमा परेको देखिन्छ,’ उहाँले भन्नुभयो।

उहाँले परियोजनाको अनुसन्धान, समुदायसँगको प्रत्यक्ष अन्तरक्रिया, अन्तर्वार्ताबाट प्राप्त अनुभव तथा ज्येष्ठ नागरिकका सरोकारलाई सार्वजनिक बहसमा ल्याउन नियमित सूचना प्रवाह आवश्यक रहेको बताउनुभयो । परियोजनाका गतिविधि, उपलब्धि र आगामी योजना समुदायसम्म स्पष्ट रूपमा पुगेमा सहभागिता, स्वामित्व र सहकार्य अझ बलियो बन्ने उहाँको धारणा थियो ।

प्रोजेक्ट भालाकुशारी अमेरिकाको नेशनल इंस्टिट्यूट्स ऑफ हेल्थको आर्थिक सहयोगमा सञ्चालित अध्ययन परियोजना हो । यसमा लेहाई विश्वविद्यालयले शैक्षिक साझेदारका रूपमा भूमिका निर्वाह गरिरहेको छ भने बीसीसीपीए सामुदायिक साझेदारका रूपमा संलग्न छ ।

विश्वविद्यालय र समुदायबीचको सहकार्यमा सञ्चालन भएको यस परियोजनाले अनुसन्धान प्रक्रियामा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता, अनुभव र आवश्यकतालाई महत्व दिँदै आएको छ । परियोजनाले ज्येष्ठ नागरिकलाई केवल अध्ययनका विषयका रूपमा नभई समाधान खोज्ने प्रक्रियाका सक्रिय साझेदारका रूपमा समेट्ने प्रयास गरिरहेको बताइएको छ ।

बैठकले हालसम्मको कार्यप्रगतिको समीक्षा गर्दै आगामी कार्यक्रमलाई व्यवस्थित, परिणाममुखी र समुदायमैत्री ढङ्गले अघि बढाउन आवश्यक समन्वय, प्रचारप्रसार तथा सहभागिता विस्तारमा जोड दिएको छ । सहभागीहरूले अनुसन्धानबाट प्राप्त तथ्य तथा समुदायका अनुभवलाई आगामी कार्यक्रम र पहलमा उपयोग गर्दै ज्येष्ठ नागरिक केन्द्रित स्वास्थ्य तथा सामाजिक सरोकारका विषयमा थप जनचेतना र संवाद विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार