काठमाडौं,
भदौ २५ ।
छायाँछवि क्रियशनले यसवर्ष आयोजना गर्न लागेको १३औं छायाँछवि तीज म्युजिक अवार्ड तत्काल आयोजना नगर्ने भएको छ । देशमा पछिल्लो समय उत्पन्न विपद् तथा त्यसबाट सिर्जिएको शोकपूर्ण अवस्थालाई मध्यनजर गर्दै अवार्ड कार्यक्रम स्थगित गरिएको क्रियशनले जनाएको छ ।
छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियद्वारा जारी विज्ञप्तिमा गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकाले नेपाली समाज शोक र संवेदनाको अवस्थामा रहेकाले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने अवस्था नरहेको उल्लेख छ ।
यद्यपि, अवार्डको प्रतिस्पर्धात्मक प्रक्रिया भने जारी रहने भएको छ । यस वर्षको अवार्डको नतिजा यही साता सार्वजनिक गरिने र विजेता सर्जक तथा सिर्जनालाई केही समयपछि छुट्टै कार्यक्रम आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिने क्रियशनले जनाएको छ ।
यसैबीच, तीज गीत सिर्जना गरी अवार्डका लागि दर्ता गर्न बाँकी रहेका सर्जक तथा कलाकारलाई यथाशीघ्र आफ्नो सिर्जना दर्ता गराउन छायाँछवि क्रियशनले आग्रह गरेको छ ।







