‘अक्षरा’ अब मंसिर २४ मा

काठमाडौं,
भदौ २५ ।

चलचित्र ‘अक्षरा’को प्रदर्शन मिति स्थगित गरिएको छ । यही शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको निर्माण पक्षले जनाएको छ । देशमा प्राकृतिक विपत्तिको अवस्था रहेकाले यस्तो समयमा चलचित्र प्रदर्शन गर्नु उचित नहुने भन्दै निर्माण संस्था क्षित बाबु प्रोडक्सनले प्रदर्शन मिति स्थगित गरेको हो । निर्माताद्वय उग्रसेन ढुंगाना र सुग्रसेन ढुांनाले जारी गरेको विज्ञप्तिअनुसार चलचित्र अब आगामी मंसिर २४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । ‘रसुवामा आएको बाढीपहिरो र हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रदर्शन मिति परिवर्तनका कारण दर्शक, सिनेमा हल व्यवसायी तथा चलचित्रसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण शुभेच्छुकमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ । साथै, नयाँ प्रदर्शन मितिमा पनि दर्शकको माया, साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।

विनयराज पौडेलको निर्देशनमा बनेको यस चलचित्रमा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा), सृष्टि खड्कालगायत कलाकारको अभिनय छ ।

उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुनुहुन्छ । फिल्मको प्रस्तुतकर्ता सोनी थापा (ढुंगाना) रहनुभएको छ । चचित्रको वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्नुहुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार