आज जेन-जी शहीद दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं,
भदौ २३ ।

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को गत १८ भदौमा बसेको बैठकले जेनजी आन्दोलन भएको दिन २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

जेनजी आन्दोलन सुरु भएको आज एक वर्ष पूरा भएको । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरमा रहेको असमानताविरुद्ध केन्द्रित भएको थियो ।

गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा २४ भदौमा देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो ।

दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी तथा तोडफोडसमेत भएको थियो ।

सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मरण र सम्मानका लागि २३ भदौलाई शहीद दिवसका रूपमा घोषणा गरेको हो । आज देशभर सार्वजनिक बिदा भएकाले सरकारी कार्यालय, शैक्षिक संस्था तथा अधिकांश सार्वजनिक निकाय बन्द रहनेछन् ।

एक वर्ष पूरा भएको अवसरमा जेनजी आन्दोलनका शहीदहरूको योगदान, आन्दोलनका क्रममा उठाइएका सवाल तथा त्यसपछि भएका राजनीतिक र सामाजिक परिवर्तनबारे विभिन्न कार्यक्रममार्फत स्मरण तथा बहससमेत हुँदैछन् ।

यसमा तपाइको मत

अन्य समाचार