काठमाडौं,
भदौ २३ ।
चलचित्र ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक गरिएको छ । साइराम पिक्चर्स युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको तीन मिनेट लामो ट्रेलरमा डेब्यु अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ ।
राजु अधिकारीको निर्देशन रहेको यो चलचित्र असोज २ गतेदेखि प्रदर्शनमा आउँदैछ । अध्ययन तथा रोजगारीका लागि विदेशिएका नेपाली युवायुवतीबीचको प्रेम, समर्पण र मतभेदलाई कथाको मुख्य विषय बनाइएको चिलचित्रका अधिकांश दृश्य बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डमा छायांकन गरिएको छ ।
शरद अधिकारी निर्माता तथा बहादुर सिंह तामाङ कार्यकारी निर्माता रहेको यस चलचित्रमा आरती अधिकारीको कथा तथा मौनता श्रेष्ठको पटकथा र संवाद छ । रामप्रसाद चौधरीको सम्पादन रहेको चलचित्र जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो ।
चलचित्रमा सोनाल र कस्मतासहित नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेललगायत कलाकारको अभिनय छ । चलचित्रलाई नेशनल सिने ग्रुपले वितरण गर्नेछ ।







