काठमाडौं,
भदौ २० ।
यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को निर्माण टिमले प्रचारप्रसार तीव्र पारेको छ । प्रदर्शनको एक साता बाँकी रहँदा कृष्ण अष्टमीको अवसर पारेर शुक्रबार बौद्धमा निर्माण टिम तथा कलाकारले रथयात्रा गरेका छन् ।
रथयात्रामा चलचित्रका मुख्य कलाकार सुशील सिटौला, पुष्कर राउत, निर्देशक विनयराज पौडेललगायत सहभागी हुनुहुन्थ्यो । निर्देशक पौडेलले चलचित्र प्रदर्शन नजिकिएसँगै प्रचारप्रसारलाई अघि बढाउन थालिएको बताउनुभयो ।
रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोबाट प्रभावित बनेकाप्रति ऐक्यबद्धता जनाउँदै केही समय प्रचारप्रसार रोकिएको निर्माण टिमले जनाएको छ । यसअघि चलचित्रकी अभिनेत्री न्यान्सी खड्काले नुवाकोटका विभिन्न स्थानमा पुगेर बाढीपीडितलाई राहत सामग्री वितरण गर्नुभएको थियो ।
विनयराज पौडेल निर्देशित चलचित्रमा न्यान्सी खड्कासहित सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको यस चलचित्रका प्रस्तुतकर्ता सोनी थापा तथा निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुनुहुन्छ ।







