काठमाडौं,
भदौ १० ।
अभिनेता पल शाहको निर्माणमा छायांकन भइरहेको चलचित्र ‘यानीमाया’को विभिन्न ६ देशमा प्रदर्शन अधिकार विक्री भएको छ । चलचित्रको प्रदर्शन अधिकार हङकङ, जापान, कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा गरिएको हो ।
चलचित्र ‘मोहर’पछि विदेशी बजारमा पलको क्रेज ह्वात्तै बढेको छ । पलले नै अभिनय गरेको चलचित्र ‘आ बाट आमा’ले पनि विदेशी बजारमा सुखद व्यापार गरेको थियो । ‘यानीमाया’को ४० दिनको सेड्यूल तय गर्दै छायांकन भइरहेको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भइरहेको यो चलचित्रमा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारको रुपमा छन् । चन्द्र ज्योती आले र पल शाह निर्माता रहेको चलचित्रमा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।
सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रलाई फागुनको ७ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ ।







