काठमाडौं,
भदौ १० ।
असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चंगुल’ले चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट प्राप्त गरेको छ । युनिभर्सल सर्टिफिकेट पाएसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
गतवर्ष भएको आन्दोलनसहित समसामयिक सामाजिक तथा राजनीतिक विषयवस्तुलाई कथाको आधार बनाइएको चलचित्र ‘चंगुल’ले राजनीतिक घटनाक्रमसँगै आमनेपाली परिवारभित्रका अवस्था र समस्यालाई समेत पर्दामा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ भने दीपेन बस्न्यातले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हाल्नुभएको छ । समसामयिक राजनीतिक घटनाक्रम र पारिवारिक परिवेशलाई एकसाथ प्रस्तुत गरिएकाले चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक तथा राजनीतिक विषयमा सोच्न बाध्य बनाउने निर्माण पक्षको दाबी छ ।







