काठमाडौं,
भदौ १० ।
नेपाल चलचित्र विकास बोर्डको सभाकक्षमा दुई नयाँ तीज गीतको भिडियो प्रिमियर गर्दै सार्वजनिक गरिएको छ । सर्जक डा. ज्ञानेन्द्र गदाल र टीका भट्टराई नेपालद्वारा रचित दुई तीज गीतको भिडियो एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
लोकप्रिय गायिका यशोदा पराजुलीको मूल स्वर तथा झुमा निरौला र सरिता शाहीको सहगायनमा तयार भएका दुवै गीतमा गणेश पराजुलीले संगीत भर्नुभएको छ । गीतको संगीत संयोजन बलराम समालले गर्नुभएको हो भने दुवै गीतको भिडियो निर्देशन समन अधिकारीले गर्नुभएको छ ।
साहित्यिक पत्रकार संघ तथा इलाम विकास समाजका अध्यक्ष एवं साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ संगीतकार बुलु मुकारुङ, अभिनेता कृष्ण मल्ल तथा अभिनेत्री शर्मिला मल्लले प्रिमियर गरिएका गीतका विविध पक्षबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा डा. टीका भण्डारीले दुवै गीतमा समेटिएको सांस्कृतिक पक्ष, तीजको मौलिक भाव तथा सामाजिक सन्देशबारे समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
वक्ताहरूले तीज गीतलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नहेरी संस्कृति, परम्परा, भावना र पुस्तान्तरणका जीवन्त दस्तावेजका रूपमा लिनुपर्नेमा जोड दिए । बदलिँदो समयसँगै तीज गीतको मौलिकता र सांस्कृतिक पक्षलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन यस्ता सिर्जनाको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो ।
‘रबेल क्रिएसन’मार्फत बजारमा ल्याइएका यी गीतले तीजको सांस्कृतिक परम्परा, सामाजिक चेतना र नेपाली मौलिक संगीतलाई नयाँ पुस्तासम्म पुर्याउन योगदान गर्ने अपेक्षा गरिएको छ ।







