काठमाडौं,
भदौ ९ ।
११औं संस्करणको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’को उपाधि समीक्षा शर्मा र रीता तामाङले चुम्नुभएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विशेष समारोहमा उहाँहरूले उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा भएको प्रतियोगितामा शर्माले ‘मिस ब्युटिफुल नेपाल’ र तामाङले ‘मिसेस ब्युटिफुल नेपाल’को मुख्य उपाधि जित्नुभएको हो ।
मिसेस ब्युटिफुल नेपालतर्फ रीता तामाङले मुख्य ताजसँगै ‘वेष्ट वाक’, ‘मष्ट फोटोजेनिक’ र ‘मष्ट ट्यालेन्टेड’ गरी चार उपाधि जित्दै प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्नुभयो । पेशाले ब्युटिसियनसमेत रहनुभएकी तामाङले उपाधिले आफूलाई थप जिम्मेवार बनाउनुका साथै नयाँ उत्साह दिएको बताउनुभयो ।
मिसेस ब्युटिफुल नेपालतर्फ मन्दिरा आचार्य फर्ष्ट रनरअप, गीता बुढाथोकी सेकेण्ड रनरअप, सिर्जना घिमिरे थर्ड रनरअप र रीता कटुवाल फोर्थ रनरअप घोषित हुनुभयो । सिर्जना घिमिरेले ‘भ्युअर्स च्वाइस’, रेखा श्रेष्ठले ‘अर्गनाइजर च्वाइस’ तथा सुनिता श्रेष्ठ आचार्यले ‘मष्ट पपुलर’को उपाधि चुम्नुभयो । सब-टाइटलतर्फ मन्दिरा आचार्यले ‘मष्ट डिसिप्लिन्ड’, सुनिता श्रेष्ठ आचार्यले ‘वेष्ट स्माइल’ र ‘सोसियल वेलफेयर एम्बासडर’, रेखा श्रेष्ठले ‘मष्ट पंक्चुअल’, गीता बुढाथोकीले ‘मष्ट एक्टिभ’, सिर्जना घिमिरेले ‘वेष्ट स्किन’ तथा रीता कटुवालले ‘वेष्ट स्पिच’ र ‘मष्ट क्रिएटिभ’को उपाधि प्राप्त गर्नुभयो ।
त्यस्तै, मिस ब्युटिफुल बन्नुभएकी समीक्षा शर्माले मुख्य विजेतासहित ‘मष्ट पपुलर’, ‘वेष्ट वाक’, ‘मष्ट फोटोजेनिक’ र ‘मष्ट पंक्चुअल’को उपाधिसमेत हात पार्नुभयो । प्रतियोगितामा ताराकुमारी दुलाल फर्ष्ट रनरअप, निशा राजवाहक सेकेण्ड रनरअप र सञ्जिना चौधरी थर्ड रनरअप घोषित हुनुभयो । यसतर्फ सञ्जिना चौधरीले ‘भ्युअर्स च्वाइस’सँगै ‘वेष्ट स्माइल’ र ‘मष्ट ट्यालेन्ट’को उपाधि हात पार्नुभयो । ताराकुमारी दुलालले ‘मिस फिटनेस’ तथा निशा राजवाहकले ‘वेष्ट स्किन’को उपाधि जित्नुभयो ।
महिलाको आत्मविश्वास, कला र सौन्दर्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको समेत सहभागिता र सम्मान गरिएको थियो ।
कार्यक्रममा संघीय संसद्, राष्ट्रिय सभा उपाध्यक्ष लीलाकुमारी भण्डारी प्रमुख अतिथि तथा वरिष्ठ अभिनेता शिव श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । पूर्वएआईजी तथा गीतकार टेक तामाङ र वरिष्ठ चलचित्रकर्मी अम्बिकाप्रसाद आचार्य विशेष अतिथि रहनुभएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेत्री तृप्ति नाडकर मुख्य निर्णायकका रूपमा रहनुभएको थियो । वरिष्ठ गायक आनन्द कार्की, ईहिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौडेल, ‘मिसेस ब्युटिफुल नेपाल-२०२४’ विजेता विजया अधिकारी, डा.सूचना मराहट्टा, फेशन विज्ञ दिना गुरुङ तथा ‘मिसेस गुरुङ-२०२२’ विजेता नीलम गुरुङ निर्णायक रहनुभएको थियो ।
समारोहमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा महाकाव्यकार खेमनाथ दाहाल, ज्योतिषविद् अर्जुन न्यौपाने, सञ्चारकर्मी गीता अधिकारी, व्यवसायी नगेन्द्र न्यौपाने, सुनील अर्याल, गायक तथा प्रस्तोता राजेश बर्देवा, वरिष्ठ अभिनेता धीरेन शाक्य, सौन्दर्यविद् मञ्जिला सुवेदी, धार्मिक अभियन्ता विनोद कार्की, मनकुमारी पोखरेल, अमृता ढेके, सपना शर्मा, राधा शर्मा, निर्देशक देवेन्द्र पाण्डे, उर्मिला दाहाल, दीपा कटुवाल, सानु तामाङ, जुनु गिरी, श्यामबहादुर महत, कृष्णकुमारी महत, माया लामा, ललिता जोशी श्रेष्ठ, रोशना राजथलीलगायत रहनुभएको थियो ।
दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेको आयोजनामा सम्पन्न प्रतियोगिताको व्यवस्थापन गीता उप्रेतीले गर्नुभएको थियो भने राहुल बन्जाडेले निर्देशन गर्नुभएको थियो । आयोजकका अनुसार प्रतियोगितालाई केवल सौन्दर्य प्रदर्शनमा सीमित नराखी सहभागी महिलाको आत्मविश्वास, प्रतिभा, व्यक्तित्व र सामाजिक सक्रियतालाई समेत प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतियोगिताको आधिकारिक मेकअप आर्टिष्ट क्युट केयरकी चन्दा पुन र कोरियोग्राफर अश्विन झा हुन्हुन्थ्यो ।







