काठमाडौं,
भदौ ८ ।
हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गर्नुभएको छ । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलमा सीतारामको निर्देशन छ ।
सीतारामका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायतका विभिन्न स्थानमा सिरियलको छायांकन गरिएको छ । धुर्मुस सुन्तली मिडीयाले निर्माण गरेको यो सिरियल हरेक साता शुक्रबार नेपाली समय साँझ ८ः१५ बजे प्रसारण गर्ने तयारी गरिएको छ । अमेरिकामा भने शुक्रबार विहान १०ः३० बजे प्रशारण हुने यो श्रृंखला धुर्मुस सुन्तली युटुव च्यानलबाट प्रशारण हुनेछ ।
सिरियलमा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनुहुनेछ । सिरियलमा हास्य कलाकार मोहन मिश्रसमेत मुख्य भूमिकामा देखिँदैहुनुहुन्छ । सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाँई, चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय देख्न सकिनेछ । सिरियलमा धुर्मुस सुन्तलीकी छोरी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रुपमा डेब्यू गर्दैहुनुहुन्छ ।
राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बजगाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ ।







