काठमाडौं,
साउन २७ ।
प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’मा समावेश ‘गुराँस फुल्दा’ बोलको गीत सार्वजनिक भएको छ । ‘सुपरस्टार’मा समावेश पुरानो गीतको रि-भर्सनका रूपमा तयार पारिएको गीतमा मेलिना राईको स्वर छ ।
सचिन सिंहको मौलिक संगीत र दयाराम दाहालको शब्द रहेको गीतलाई वसन्त सापकोटाले रि-एरेन्ज गर्नुभएको हो । गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउत फिचर्ड हुनुहुन्छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङको छायांकन, सम्पादन तथा कलरिङ छ ।
आयंका फिल्म्सको प्रस्तुतिमा सुवेन्दु घोषको निर्देशनमा बनेको ‘मास्टर्नी’ क्राइम थ्रिलर तथा पारिवारिक ड्रामा हो । चलचित्रमा प्रियंका कार्कीसहित सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरि, ऋचा शर्मा, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ । प्रियंका कार्कीले कथा लेखेको चलचित्रको पटकथा शान बस्नेतले तयार पार्नुभएको हो । चलचित्र आगामी भदौ ५ गते प्रदर्शनमा आउँदै छ ।







