काठमाडौं,
साउन २६ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (मंगलबार)देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । एक्स्पो साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
एक्स्पोमा विभिन्न ब्रान्डका नयाँ मोडलका विद्युतीय कार, स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहनेछन् । नेपाल भित्रिएका नयाँ सवारीसाधन तथा आधुनिक प्रविधिका केही मोडल पहिलोपटक एक्स्पोमार्फत सार्वजनिक गरिने नाइमाले जनाएको छ ।
यस वर्षको एक्स्पोमा ५५ ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक हुनेछन् । सवारीसाधनसँगै अटोमोबाइल पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसन तथा एक्सेसरिजका स्टलसमेत राखिनेछन् ।
सवारी खरिदलाई सहज बनाउन बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले विशेष अफर र सहुलियत दरका कर्जा योजना उपलब्ध गराउनेछन् । एक्स्पोमा सवारीसाधन प्रदर्शनीसँगै दैनिक लर्निङ सेसन र पोलिसी डायलगसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक्स्पोले विद्युतीय तथा हरित सवारीको प्रयोग विस्तारसँगै नेपालको अटोमोबाइल बजार र आर्थिक गतिविधिमा योगदान पुर्याउने आयोजकको विश्वास छ ।






