काठमाडौं,
साउन २१ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘म मदनकृष्ण’ मा अभिनेता अरुण क्षेत्री अनुबन्धित हुनुभएको छ । उहाँ यस चलचित्रमा हरिवंश आचार्यको भूमिकामा देखिनुहुने छ । मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा हरिवंश हुनुहुन्छ भने अब पर्दामा उहाँको पार्टनरको भूमिकामा अरुण देखिनुहुनेछ ।
अरुण अहिले बक्सअफिसमा ब्लकबस्टर चलचित्र ‘गौँथली’का मुख्य पात्र हुनुहुन्छ । उहाँले चलचित्रमा ठूले अर्थात् अटिजम पात्रको भूमिका निर्वाह गर्नुभएको छ । अरुणले डेब्यु चलचित्र ‘महापुरुष’ मा हरिवंशको छोराको भूमिकामा देखिनुभएको थियो ।
अरुणले अब ‘म मदनकृष्ण’ सँगै यही टीमले सिरिजकै रूपमा निर्माण गर्ने हरिवंश आचार्यको बायोपिक चलचित्रका लागि पनि एकैपटक साइन गर्नुभएको छ ।
‘हामीले म मदनकृष्णमा हरिवंशको रोलमा अरुणलाई लिएका छौँ । योसँगै एकैपटक अब हरिवंश आचार्यको जीवन कथामा बन्ने बायोपिकमा पनि हरिवंश दाइको मूमिकामा अरुणलाई साइन गराएका छौँ,’ चलचित्रका निर्देशक मिलन चाम्सले भन्नुभयो, ‘हामी सशक्त अभिनय गर्ने कलाकारको खोजी गर्दै जाने क्रममा अरुणसम्म पुगेका हौँ । उहाँलाई हरिवंशको भूमिकामा पक्कै पनि सबैले मन पराउनु हुनेछ भन्ने लागेको छ ।’
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उहाँको सम्पूर्ण जीवन संघर्ष र आरोह-अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘म मदनकृष्ण’ निर्माणको केही दिन अगाडि घोषणा गरिएको थियो ।
बायोपिक ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नुहुनेछ । उहाँले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गर्नुभएको थियो, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।
‘म मदनकृष्ण’को बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नुहुनेछ । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उहाँले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नुहुनेछ ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नुहुनेछ ।







