नेपाल आइपुग्यो इन्फाको बेलायती टोली

काठमाडौं,
साउन २१ ।

यही साउन ३० गते काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड-२०२६) लाई सफल बनाउन बेलायतस्थित आयोजक इन्फा ईभेन्ट्स युकेको टोली बूधवार साँझ काठमाडौं आइपुगेको छ । काठमाडौं विमानस्थलमा आयोजक टोलीलाई इन्फा नेपालका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए ।

बेलायतबाट काठमाडौं आइपुगेको इन्फा अन्तर्राष्ट्रिय टोलीमा अध्यक्ष उमेशराज मोक्तान, बोर्ड निर्देशकहरु टंक भट्टराई, आशिषराज पन्त, राज पाण्डे तथा सुष्मा पौडेल रहनुभएको छ । उहाँहरूले अवार्ड समारोहको समग्र व्यवस्थापन, अतिथि समन्वय, प्राविधिक तयारी तथा कार्यक्रम सञ्चालनसँग सम्बन्धित विभिन्न कामलाई अन्तिम रूप दिनुहुनेछ ।

काठमाडौं मै रहनुभएका इम्फा इभेन्ट, यूकेका बोर्ड निर्देशक पाल्देन लामा तथा नेपालतर्फको आयोजक टोलीको नेतृत्व गरिरहनुभएका अध्यक्ष सुनील श्रेष्ठसहितको समुहले बेलायतबाट आएको‌ टोलीलाई स्वागत गरेको थियो ।

इन्फा अवार्ड नेपालका अध्यक्ष सुनील श्रेष्ठको नेतृत्वमा बोर्ड सदस्य मनिष कार्की र मनोज केसी सहितको टोलीले लामो समयदेखि अवार्डको व्यवस्थापन, कलाकार समन्वय, मञ्च निर्माण, प्राविधिक तयारी तथा अन्य आवश्यक कार्यलाई निरन्तर अघि बढाइरहेको छ ।

रेड कार्पेट, सांगीतिक प्रस्तुति, विशेष सम्मान र विभिन्न विधामा उत्कृष्ट स्रष्टालाई अवार्ड प्रदान गरिने कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार