काठमाडौं,
साउन २१ ।
आगामी असोज २ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ । ललितपुरको क्यूएफएक्स लबिममा एक कार्यक्रम आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो ।
एक मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबीचको घर झगडाले स्थान पाएको छ । यो चलचित्र ‘झिँगेदाउ’ को सिक्वेल हो । चलचित्रमा आँचल शर्मा र केकी अधिकारी देउरानी जेठानीको भूमिकामा हुनुहुन्छ भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा देखिनुभएको छ । चलचित्रमा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा, नरेन्द्र थापा लगायतका कलाकारको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेख्नुभएको हो । चलचित्रमा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी गर्नुभएको छ ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन निर्देशन छ । चलचित्रका प्रोडक्सन म्यानेजमेन्ट ईश्वर घिमिरेको छ । सिनेमा एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ ।







