कृष्ण जन्माष्टमीको अवसरमा ‘बा एक योद्धा’

काठमाडौं,
साउन २१ ।

चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि नेपालसहित विश्वभरका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र कृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको निर्माण संस्था आर्टिस्टिक इन्टरटेन्मेन्टले जनाएको छ ।

चलचित्रको निर्माता वसन्त लम्साल हुनुहुन्छ । निर्माता लम्साल विगत करिब दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका व्यवसायी हुनुहुन्छ । व्यवसायसँगै उहाँ गीतकार, संगीतकार र गायकका रूपमा पनि सक्रिय हुनुहुन्छ । ‘बा एक योद्धा’ निर्माणको हिसाबले उहाँको दोस्रो चलचित्र हो ।

निर्माता लम्सालका अनुसार चलचित्रले आफ्ना सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि जीवनभर संघर्ष गर्ने एक बुवाको त्याग, जिम्मेवारी, माया र संवेदनशील यात्रालाई केन्द्रमा राखेको छ ।

निर्माता लम्सालले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक अनुभूति दिने उद्देश्यले चलचित्र तयार पारिएको बताउनुभयो । उहाँका अनुसार परिवारका सबै सदस्यले सँगैबसेर हेर्न सक्ने चलचित्र निर्माण गर्ने प्रयास गरिएको छ र यसले दर्शकको मन छुने विश्वास निर्माण टिमको छ ।

चलचित्र हरि लम्सालले निर्देशन गर्नुभएको हो । कथा र पटकथासमेत उहाँलेनै तयार पार्नुभएको छ भने डा. कृष्णहरि बराल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा हरि लम्सालकै संगीत सुन्न सकिनेछ । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गर्नुभएको छ । कार्यकारी निर्माता अनिल बुढाथोकी, लाइन प्रोड्युसर अर्जुन पौडेल तथा सह-निर्माता कृष्ण काफ्ले रहनुभएको छ ।

चलचित्रमा दिव्यदेव पन्तले बुवाको मुख्य भूमिकालाई जीवन्त बनाउनुभएको छ । झरना थापा आमाको भूमिकामा देखिनुभएको छ भने सुहाना थापाले छोरीको पात्र निर्वाह गर्नुभएको छ । यस्तै, सागर खनाल, सुप्रज्ञा शर्माले छोरा र बुहारीको भूमिकामार्फत पारिवारिक सम्बन्धका उतार चढावलाई प्रभावकारी रूपमा पर्दामा उतार्नुभएको छ ।

यसका अतिरिक्त शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरुङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुङ्गाना, अञ्जन ढकाल र करण शाहलगायत कलाकारको अभिनय रहेको चलचित्रमा अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिनुहुनेछ । चलचित्रको छायांकन काठमाडौं र काभ्रेको ऐतिहासिक तथा पर्यटकीय नगर पनौतीका विभिन्न स्थानमा गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार