सिड्नी,
साउन ६ ।
‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६’ को नवौं संस्करण अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । आगामी १७ डिसेम्बर २०२६ मा हुने अवार्डका लागि नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाबीच औपचारिक सम्झौता (एमओयू) सम्पन्न भएको हो ।
सम्झौतामा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं संयोजक सञ्जय खतिवडा र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाका संस्थापक तथा आयोजक अरुण श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का उपाध्यक्ष दिनेश पोखरेल, एससीसी एनएसडब्लु संयोजक उषाकिरण बरिया पोखरेल, भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाका निर्देशक रुपेश भट्टराई, ग्लोबल नेपाली फिल्म अवार्डका सल्लाहकार तथा अन्तर्राष्ट्रिय विद्यार्थी अभियन्ता विजय सापकोटा, भारा इन्टरटेनमेन्टका संस्थापक हेमन लामिछाने, एएनसीका इभेन्ट संयोजक नवराज तिमल्सिना, एएनसीकी प्रवक्ता सबला बस्नेत, जीएसएनएमसीका अध्यक्ष विष्णु हमाल, चलचित्र निर्माता तथा आरएफएमका संस्थापक रञ्जित शाह, वरिष्ठ सामुदायिक अगुवा महेन्द्र लम्साल र भूपाल सिटौला, वरिष्ठ पत्रकार हेमन्त काफ्ले तथा एनआरएनएका पूर्व सह-महासचिव एवं कार्यक्रम आयोजक राकेश जोशी लगायतको उपस्थिति थियो ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले सिड्नीमा आयोजना हुन लागेको नवौं संस्करणले ग्लोबल नेपाली फिल्म अवार्डको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्दै सबै साझेदारलाई बधाई दिनुभएको थियो ।
सन् २०१८ देखि अमेरिकामा निरन्तर आयोजना हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डका आठ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । नेपाली फिल्मका कलाकार, प्राविधिक, स्रष्टा तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आएको यो अवार्डले नेपाली कला, संस्कृति र विश्वभर फैलिएको नेपाली समुदायबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ ।
आयोजकका अनुसार नवौं संस्करण पहिलो पटक अमेरिकाबाहिर आयोजना हुन लागेको हो, जसले अवार्डलाई थप अन्तर्राष्ट्रिय बनाउने विश्वास लिइएको छ । सिड्नीमा रहेको ठूलो नेपाली समुदाय र सांस्कृतिक गतिविधिको सक्रियताले नेपाल र अष्ट्रेलियाबीच कला तथा संस्कृतिको आदान–प्रदानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।






