‘मन बिनाको धन-२’मा गौरी मल्ल

काठमाडौं,
साउन ५ ।

संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘मन बिनाको धन-२’मा अभिनेत्री गौरी मल्ल अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले उहाँसँग लिखित सम्झौता गरेको हो ।

यसअघि सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, प्रकाश घिमिरे किरण केसीलगायताका कलाकार अनुबन्धित भइसक्नु भएको छ । चलचित्रमा सरोज खनालको जोडीका रूपमा गौरी मल्ल देखिने जनाइएको छ । यसअघि उहाँहरूले ‘महामाया’, ‘चोट’, ‘तपस्या’, ‘सम्हालिन्छ कहिले मन’, ‘सुब्बा साब’लगायतका चलचित्रमा सँगै अभिनय गर्नुभएको थियो ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रको कथा टंक बुढाथोकीकै हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको छ । आगामी भदौको पहिलो साताबाट काठमाडौं उपत्यका र मुस्ताङमा छायांकन सुरु हुने यस चलचित्रका निर्माता विष्णुमाया मैनाली हुनुहुन्छ ।

‘मन बिनाको धन’ टंक बुढाथोकीको चर्चित गीत हो, जसले युट्युबमा तीन करोडभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । दोस्रो भागमा बालगायक अशोक दर्जीको अभिनय रहने वा नरहनेबारे निर्माण पक्षले खुलाएको छैन ।

यसमा तपाइको मत

अन्य समाचार