✍️ अर्जुन प्रधान
ल्यानकास्टर, अमेरिका, ५ साउन ।
नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था ‘साहित्य कला संगम’ ल्यानकास्टरले यही जुलाई २५, २०२६ मा आफ्नो लोकप्रिय काव्य शृङ्खला ‘मनदेखि मनसम्म’को आठौं संस्करण आयोजना गर्ने भएको छ । स्थानीय समयअनुसार साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम यसपटक ‘पहिलो प्रेम’ विषयमा केन्द्रित रहनेछ ।
प्रवासमा आयोजना हुने परम्परागत कविता वाचन कार्यक्रमहरूभन्दा फरक पहिचान बनाउँदै आएको ‘मनदेखि मनसम्म’ ले कवि र श्रोताबीचको दूरी घटाउँदै शब्दमार्फत भावनात्मक संवाद सिर्जना गर्ने प्रयास गर्दै आएको छ । यस मञ्चमा कविता केवल वाचनमा सीमित हुँदैन, बरु जीवनका अनुभूति, स्मृति र सम्बन्धहरूलाई साझा गर्ने माध्यम बन्छ ।
यस शृङ्खलाको विशेषता भनेको प्रत्येक संस्करणमा साझा विषयमार्फत सबै प्रस्तोताहरूलाई जोड्नु हो । छोटो समयभित्र प्रभावशाली अभिव्यक्ति दिने अभ्यास, विविध शैलीका प्रस्तुति र गहिरो भावनात्मक सम्प्रेषणले कार्यक्रमलाई श्रोतामैत्री बनाउँदै आएको छ ।
साहित्य कला संगमका अध्यक्ष दिपेश चापागाईंका अनुसार, यसपटकको कार्यक्रममा करिब २५ जना नवोदित तथा स्थापित नेपाली कविहरूले ‘पहिलो प्रेम’ का विविध आयाम प्रस्तुत गर्नेछन् । बाल्यकालका निर्दोष अनुभूति, किशोरावस्थाका स्मृति, सम्बन्धका मिठास र जीवनका अविस्मरणीय क्षणहरू कवितामार्फत उजागर हुनेछन् ।
मुख्य कार्यसमिति सदस्य तथा साहित्यकार शेखर कोइराला ‘काकू’ भन्नुहुन्छ, ‘हामीले ‘मनदेखि मनसम्म’ लाई केवल कविता सुनाउने कार्यक्रमका रूपमा होइन, मनहरू जोड्ने यात्राका रूपमा विकास गरेका छौं । ‘पहिलो प्रेम’ जस्तो विषयले सबैको जीवन छुन्छ, त्यसैले यो संस्करण अझ आत्मीय हुने विश्वास छ ।’
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष नयाँ पुस्ताको सहभागिता हो । साहित्य कला संगमले पुस्तान्तरणलाई प्राथमिकता दिँदै आएको छ र यसपटक बालबालिकाहरूको विशेष प्रस्तुति पनि समावेश गरिएको छ । यसले प्रवासमा हुर्किरहेको नयाँ पुस्ताको नेपाली भाषा र संस्कृतिप्रतिको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
विगतमा अमेरिकाका विभिन्न शहरहरूमा सात संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको यस शृङ्खलाले साहित्यप्रेमीहरूबीच विशेष स्थान बनाइसकेको छ । आयोजकले ल्यानकास्टर तथा आसपासका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई स्रष्टाहरूलाई उत्साह प्रदान गर्न आग्रह गरेका छन् ।
प्रवासमा भाषा र संस्कृति केवल स्मृतिमा सीमित नरही पहिचानको आधार बन्ने सन्दर्भमा, ‘मनदेखि मनसम्म’ जस्ता कार्यक्रमहरूले समुदायलाई भावनात्मक रूपमा जोड्ने महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।






