डली गुरुङ याक्थुम्बालाई ‘पाँचौँ मिसेस नेपाल युनिभर्स-२०२६’को ताज

ललितपुर,
साउन ४ ।

मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बाले ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’को पहिरिनुभएको छ । लन्डन फेसन हाउसद्वारा आइतबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ‘क्राउन सेरोमनी’मा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य तथा मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक एवं कार्यक्रम आयोजक मनिषा डंगोल श्रेष्ठले डलीलाई विजेताको क्राउन पहिराउनुभएको हो ।

तेस्रो चरणको कोलोन क्यान्सरलाई पराजित गर्दै पुनः सक्रिय जीवनमा फर्किनुभएकी डली नेपालको पहिलो टेलिभिजन (भिजुअल) विज्ञापन मोडलका रूपमा परिचित हुनुहुन्छ । उहाँले नेपालमा निर्माण भएको पहिलो भिडियो विज्ञापनमा समेत अभिनय गर्नुभएको थियो । उहाँ २०४० र २०५० को दशककी चर्चित विज्ञापन तथा फेसन मोडल हुनुहुन्छ । उपाधिसँगै डलीले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

तीन सन्तानकी आमा डलीले आफ्नो सफलतामा श्रीमान् निराकर याक्थुम्बा, सन्तानहरू तथा सासूआमा इन्दिरा याक्थुम्बाको प्रेरणा र साथ रहेको सुनाउनुभयो । निराकर याक्थुम्बा ‘१९७४ एडी’ ब्यान्डका गिटारवादक हुनुहुन्छ ।

उपाधि ग्रहणपछि उहाँले क्यान्सरमाथिको विजयपछि प्राप्त दोस्रो जीवनलाई समाज र राष्ट्रका लागि अर्थपूर्ण बनाउने अवसरका रूपमा यस प्रतियोगितालाई लिएको बताउनुभयो । विश्वमञ्चमा नेपाली महिलाको क्षमता, पहिचान र सम्भावनालाई फरक ढंगले प्रस्तुत गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ थियो ।

‘क्यान्सरलाई जितेर दोस्रो जीवन पाएपछि प्रकृतिसँग रमाइरहेको अवस्थामा ‘मिसेस नेपाल युनिभर्स-२०२६’ मा चयन हुन पाउँदा अत्यन्त खुसी छु । विश्वसामु नेपाली महिलाको पहिचान स्थापित गर्ने यो महत्त्वपूर्ण मञ्च भएकाले परिवारको प्रेरणाले प्रतियोगितामा सहभागी भएकी हुँ । ‘मिसेस युनिभर्स–२०२६’ मा नेपाललाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने प्रयास गर्नेछु,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक तथा लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले डलीको संघर्ष, आत्मविश्वास र जीवनयात्रा प्रेरणादायी रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्व मिसेस नेपाल युनिभर्ससमेत रहनुभएकी श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै मिसेस नेपाल युनिभर्स प्रतियोगिताको यात्रा, उद्देश्य र आगामी योजनाबारे पनि जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार