काठमाडौं,
असार ३२ ।
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिनुभएको हो ।
बुधबारको बैठकमा तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन आयोगका प्रतिवेदन पेस गर्नुभएको थियो ।
मन्त्री गौतमले राष्ट्रिय मानवअधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०८१/०८२ र राष्ट्रिय समावेशी आयोगको सातो वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
बुधबारको प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।
बुधबारको बैठकमा सांसदहरूले जनसरोकार लगायत विषयमा आफ्नो भनाइ राखेका थिए ।






