काठमाडौं,
असार २० ।
विशिष्ट हास्य कलाकार स्वर्गीय खेम शर्माको निधनको १३औँ दिनको पुण्यतिथिको अवसरमा काठमाडौंका विभिन्न सामाजिक संस्थामा आश्रित असहाय, वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूलाई भोजन गराइएको छ ।
नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखा (फान युएसए) को समन्वय तथा आर्थिक सहयोगमा आयोजित कार्यक्रममा काठमाडौंका चारवटा आश्रममा आश्रित करिब ४५० जनालाई भोजन वितरण गरिएको हो ।
भोजन वितरण कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा सल्लाहकार रविन्द्र खड्का, अध्यक्ष उत्तम केसी, वरिष्ठ उपाध्यक्ष शिवहरि बैरागी, उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल ‘छन्दे’, सदस्यहरू जीवन थापा, श्रीदेव भट्टराई, इन्द्र दोङ (खम्बे), चन्द्रकला राई ‘लब्ली’ तथा कलाकार नवराज दुरा, सानिया खानलगायतको सहभागिता रहेको थियो ।
आयोजकका अनुसार माछापोखरीस्थित अपांग सरोकार केन्द्र, गोकर्णेश्वरस्थित संयुक्त एकता आवाज केन्द्र, बनस्थलीस्थित मानव सेवा आश्रय तथा टोखा–९, गोंगबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा रहेका आश्रितहरूलाई भोजन गराइएको हो ।
नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाका अध्यक्ष दिनेश कार्कीको नेतृत्वमा अमेरिकामा रहेका नेपाली कलाकार, प्राविधिक तथा चलचित्रप्रेमीहरूबाट संकलित सहयोग रकममार्फत उक्त मानवीय कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका अवसरमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले प्रवासमा रहेर पनि देश र नागरिकप्रति उत्तरदायित्व निर्वाह गर्दै सामाजिक कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो ।
यस सामाजिक अभियानका लागि अमेरिकाबाट अध्यक्ष दिनेश कार्कीको संयोजकत्वमा राहुल-उषा केसी, विश्व पौडेल, महेश्वर घिमिरे, खेम बोहरा, अनिल संग्रौला, राजु केसी, किशोर सुब्बा, सुरेश दाहाल, कृष्ण श्रेष्ठ, अरुणा कार्की, अन्जु दमाई, शंकर वाग्ले, शान्ति भण्डारी, गोपालचन्द्र लामिछाने, सुन्दर श्रेष्ठ, सुमन दाहाल, अशोक श्रेष्ठ, राजेन्द्र रायमाझी, दिनेश थापा, रुपा राना, महादेव त्रिपाठी, सूर्य थोकर, राजेश ढुंगाना तथा दिनेश-मोहन कार्कीलगायतले आर्थिक सहयोग गर्नुभएको थियो ।
आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै स्वर्गीय खेम शर्माप्रति श्रद्धाञ्जलि अर्पण गरेको तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको जनाएको छ ।






