चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

काठमाडौं,
असार ९ ।

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा गठित कार्यदललाई दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यदलमा विभिन्न मन्त्रालय, विभाग तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सदस्य रहेका छन् ।

भारतको ‘टि बोर्ड अफ इण्डिया’ले आयातित चियाका सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण, प्रयोगशाला शुल्क तथा परीक्षण प्रतिवेदन नआएसम्म गोदाममा भण्डारण गर्नुपर्ने व्यवस्था लागू गरेपछि नेपाली चिया निर्यात प्रभावित भएको छ ।

उक्त प्रावधानका कारण साना तथा मझौला चिया उत्पादक र निर्यातकर्ताले कठिनाइ भोग्नुपरेको, भन्सार नाकामा ढुवानी सवारीसाधन लामो समय रोकिँदा चियाको गुणस्तरमा असर पुग्नुका साथै व्यापार लागतसमेत बढेको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार