इप्पानको सचिवमा कृष्ण घिमिरे निर्विरोध निर्वाचित

काठमाडौं,
जेठ ३० ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन समितिले अन्तिम परिणाम सार्वजनिक गरेसँगै इप्पानले नयाँ नेतृत्व प्राप्त गरेको हो ।

निर्वाचनबाट ऊर्जा व्यवसायी तथा विकास हाइड्रो, बुढीगण्डकी हाइड्रो र सांग्रिला हाइड्रोका प्रबन्ध निर्देशक कृष्ण घिमिरे सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ जलविद्युत् क्षेत्रको विकास, व्यवस्थापन तथा लगानी प्रवर्द्धनमा लामो समयदेखि सक्रिय घिमिरेको निर्विरोध चयनलाई ऊर्जा क्षेत्रभित्र सकारात्मक रूपमा हेरिएको छ ।

निर्वाचनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव घिमिरेले नेपालको आर्थिक रूपान्तरण र समृद्धिको प्रमुख आधार जलविद्युत् क्षेत्र भएको बताउनुभयो । उहाँले नेपालमा उपलब्ध अथाह जलस्रोतको पूर्ण उपयोग गर्दै ऊर्जा उत्पादनमार्फत देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्नुभयो ।

‘नेपालको विकास र समृद्धिको मुख्य आधार जलविद्युत् नै हो । ऊर्जा क्षेत्रका विद्यमान समस्या, नीतिगत जटिलता तथा लगानीकर्ताले भोगिरहेका चुनौती समाधान गर्दै यस क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

घिमिरेले इप्पानको नयाँ नेतृत्वले जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार विस्तार, विद्युत् व्यापार तथा निजी क्षेत्रको लगानी सुरक्षाजस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । ऊर्जा क्षेत्रलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने उहाँको धारणा छ ।

इप्पानको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बन्नुभएको छ । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित हुनुभएको छ भने महासचिवमा टीएन आचार्य र उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्त निर्वाचित हुनुभएको छ। सचिव पदमा कृष्ण घिमिरेसँगै कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा एक मात्र प्रतिस्पर्धात्मक पद रहेको कोषाध्यक्षमा शंकर बस्याल विजयी हुनुभएको छ। उहाँले मिथुन पौडेललाई पराजित गर्दै कोषाध्यक्ष पदमा विजय हासिल गर्नुभएको हो ।

नयाँ नेतृत्व चयनसँगै ऊर्जा क्षेत्रका सरोकारवालाले इप्पानले जलविद्युत् क्षेत्रका चुनौती समाधान, लगानी प्रवर्द्धन, विद्युत् व्यापार विस्तार तथा ऊर्जा नीतिमा सुधारका लागि अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेका छन् । सचिवमा निर्विरोध निर्वाचित घिमिरेको अनुभव र व्यवस्थापकीय क्षमताले संस्थालाई थप गतिशील बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार