काठमाडौं,
जेठ १५ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट आज सार्वजनिक गर्दै छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिन अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ ।
सरकारले यसपटक करिब १८ खर्ब ९० अर्बदेखि २० खर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो ।
अर्थसचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ । यद्यपि, चालु वर्षमा पुँजीगत खर्च करिब २६ प्रतिशत र राजस्व संकलन लक्ष्यको ६० प्रतिशत मात्र पुगेको अवस्थामा सरकारले केही महत्त्वाकांक्षी कार्यक्रम समेट्ने तयारी गरेको जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि तथा राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिएको बताइएको छ ।
सरकारले सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र स्टार्टअप क्षेत्रमा विशेष कार्यक्रम ल्याउने संकेत गरेको छ । साथै, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने, कर प्रणालीमा सुधार गर्ने तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बजेटमा समावेश हुने अपेक्षा गरिएको छ ।
बजेटमार्फत सबै सरकारी सेवा ‘लाइन होइन, अनलाइन’ प्रणालीमार्फत उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोगलाई सशक्त बनाउने तथा स्वास्थ्य बीमा र रोजगारमुखी शिक्षामा जोड दिने तयारी गरिएको छ ।
यसैगरी, सरकारले कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्दै जलविद्युत् र पर्यटन क्षेत्रको पूर्वाधार विकासका कार्यक्रम अघि सार्ने जनाएको छ ।






